स्वागतम खबर
ढल्केवर, बैशाख २६ ।
नेकपा एमालेबाट धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार श्यामसुन्दर महतोले आफ्नो चुनावी प्रतिबद्धता- पत्र सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी उम्मेदवार महतोले शिक्षा, स्वास्थ्य, कृषि रोजगार, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बटेश्वर गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने योजना सहितका आफ्नो १६ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका हुन् ।
उम्मेदवार महतोले प्रतिबद्धता-पत्रमा कृषिलाई आधुनिकीकरण गर्ने, गाउँपालिका भित्रका प्राकृतिक सम्पदाहरुको विस्तार र संरक्षण गर्ने, बटेश्वरलाई व्यापारिक केन्द्रको रुपमा पहिचान गराउने लगायतको योजनाहरु समेटका छन् । यस्तै जनताको आधारभूत शिक्षा, स्वास्थ्य विजुली, खानेपानी, सडक, सिंचाई जस्ता विषयहरुलाई गम्भीरता पूर्वक विश्लेषण गरी योजनामा समावेश गर्ने प्रतिबद्धता- पत्रमा उल्लेख छ ।
जितेपछि जनताको सेवा नै आफ्नो पहिलो धर्म, कर्तव्य रहने र २४ घण्टा दत्तचित भई लाग्ने, गाउँबासीबाट पाइने उचित सुझाव र सल्लाह नै विकासको लागि आफ्नो मार्गचित्र निर्माण गर्ने उम्मेदवार महतोले घोषणा पत्रमा उल्लेख गरेका छन् ।
उम्मेदवार श्यामसुन्दर महतोले आफ्नो प्यानलले घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेको र मतदातामा आफ्नो पार्टी र उम्मेदवारीप्रतिको उत्साह हेर्दा आफ्नो जित पक्का रहेको बताए । घरदैलोमा पुग्दा मतदाताबाट आफूले परिकल्पना नै नगरे जस्तो व्यापक उत्साह, सथा समर्थन पाएको उनको भनाइ छ । जनताको साथ आफूलाई रहेकाले फराकिलो मत अन्तरले निर्वाचित हुने उम्मेदवार महतोले दावी गरेका छन् ।