स्वागतम खबर
महेन्द्रनगर, बैशाख २७ ।
जनता समाजवादी पार्टी (जसपा) बाट धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजमा वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका रामनाथ महतो (दिनेश) शिक्षामा सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । आज वडामा चुनावी रैलीको सुरुवात गर्दै उम्मेदवार महतोले आफु निर्वाचित भएपछि शिक्षामा सुधार गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए ।
विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार गर्ने, भौतिक संरचनामा सुधार गर्ने, आधुनिक तथा समयको माग अनुसार प्राविधिक शिक्षाका प्रबन्ध गर्ने, वडाको प्रत्येक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठनको व्यवस्था गर्ने, नुमना र उत्कृष्ट विद्यालयको लागि वातारण बनाउने कार्य नै आफ्नो पहिलो प्राथमिकतामा रहेको उम्मेदवार महतोको भनाइ छ ।
उनले जनतालाई चाहिने आधारभूत आश्यकता गाँस, बाँस र कपास भएपनि शिक्षाको विकास विना त्यो पूर्ण हुन नसक्ने भन्दै उम्मेदवार महतोले समाजका सबै विकृति, विसंगति, कुरीति र अन्धविश्वासलाई चिर्न शिक्षा नै ठूलो हतियार रहेको जिकिर गरे । उनले समयको माग अनुसार अहिले शिक्षामा आधुनिकीकरण गर्नु र हरेक नागरिकलाई आवश्यकता अनुसारको शिक्षाको व्यवस्थाले नै शिक्षित र सभ्य समाजको निर्माण हुने दावी गरे ।
अहिले गाउँ समाजमा देखिएको लागुऔषधको प्रयोगको विकृति, कमै उमेरमा युवाहरु कुलतमा फस्दै गएको अवस्थालाई अन्त्य गरी लागु औषध र दुव्र्यसनमुक्त समाज निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै उम्मेदवार महतोले परिवर्तनको पक्षमा मत हाल्न मतदातालाई अपिल गरेका छन् ।
आजको परिवर्तनले नै भोलीको भविष्य कस्तो हुने हो भन्ने तय गर्ने भएकोले मतदातालाई आफ्नो विवेक प्रयोग गरेर राम्रो र योग्य उम्मेदवारलाई मात्र मत दिएर विजयी गराउन उनले आग्रह गरेका छन् ।
तपाईको एक भोट र मतले तपाईको वडा र पालिकाको भविष्य निर्धारण गर्ने भएकोले परिवर्तनको पक्षमा मतदान गरी सहि उम्मेदवारलाई विजयी गराउन उनले आफ्ना वडाका मतदातालाई अपिल गरेका छन् । उम्मेदवार महतो आफ्नो पार्टीको चुनाव चिन्ह छाता छाप लिएर चुनावी मैदानमा छन् । मिथिला नगरपालिकामा जसपा र माओवादी केन्द्रबीच गठबन्धन छ ।