स्वागतम खबर
काठमाडौं, बैशाख २८ ।
बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन विदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेसँगै आउँदो जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।
राष्ट्र बैंकले सूचना निकालेर सरकारको निर्णयअनुसार जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिइने उल्लेख गरेको छ । अरू दिन बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म बैंक खुल्नेछन् ।
दशैँ, तिहार बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा धेरै भएमा तेस्रो दिनदेखि बैंक तथा वित्तीय संस्थाका सेवा नियमित गर्न कर्मचारी खटाएर राजस्व कारोबार गर्ने शाखा खुलाउनु पर्नेछ । सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने सेवाका लागि अर्को हप्ता बैंक धाउनु नपर्ने गरी काम गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा मंगलबार प्रकाशित गरिसकेको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो बिदा लागू भएसँगै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म हुनेछ ।