स्वागतम खबर
जनकपुरधाम, बैशाख ३० ।
धनुषाको मिथिला नगरपालिका वडा नं.९ बेंगाडाबर स्थित सार्वजनिक माविको मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन् । मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । दुई वटा मत छापिरहेको अवस्थामा पोली एजेन्टहरूले देखेपछि केही बेर हो हल्लाा हुँदा मतदान स्थगित भएको थियो ।
यता उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु फेरी भएको थियो । ५ मिनेट भित्रमै उनले २ वटा मतपत्रमा रुख (गाछी) छापमा स्वस्तीक मोहर छाप लगाएको स्थानीय पोल एजेन्टले बताएका छन् । मतदान अधिकृत सिंह स्थानीय बासिन्दा हुन् । उनको घरपरिवार कांग्रेस पार्टी समर्थक छन् । स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन् ।
यता मिथिला नगरपालिकाका निर्वाचन अधिकृत दीपक धितालले विवाद भए पनि मत छापेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । केही बेर विवाद भएपनि पुन समान्य रुपमा मतदान भएको उनले बताएका छन् ।
यता मतदान अधिकृत सिंहले एक मतदाताले एउटामा छाप लगाउन छाडेको र अर्का मतदाताले आफूलाई छाप लगाउन नआएको कारण उनले भनेकै ठाउँमा छाप लगाइदिँदा समस्या भएको प्रतिक्रिया दिएका थिए । त्यहीकारण विवाद हुँदा तुरुन्तै समाधान गरेर मतदान गराएको उनले दावी गरेका छन् ।