एजेन्सी
महेन्द्रनगर, बैशाख ३० ।
संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । यूएईको एक प्रान्त आबुधाबीका शासक पनि रहेका राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ ।
यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने त्यहाँको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । शेख खलिफा विगत केही वर्षदेखि बिरामी थिए ।
खलिफा आफ्ना बुवा शेख जायद बिन शुल्तान अल नयनको निधनपछि सन् २००४ देखि यूएईको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । शेख खलिफालाई आधुनिक यूएईका निर्माता पनि मानिन्छ ।