स्वागतम खब
ढल्केवर, जेठ ६ ।
धनुषाको मिथिला नगरपालिकाको प्रमुख मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र महतोको एन्ट्री भएको छ । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका हुन् । निर्वाचित महतोले ७ हजार ३१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी उपमेयरमा पदमा भने नेकपा एमालकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन् । उपमेयरमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन् ।
यसअघि २०७४ सालको चुनावमा मिथिला नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । तर यसपटक पार्टीभित्रबाटै अन्तरघात भएपछि नेतृत्वमा पार्टीले हार व्यहोर्नु परेको मेयरका प्रत्यासी राजाराम पक्षको आरोप छ । ११ वटा वडा रहेको मिथिला नगरपालिकामा यसपटक पाँच वटा वडामा नेकपा एमाले वडाअध्यक्ष जितेको छ भने चार वटामा नेपाली कांग्रेस र दुई वटा वडामा नेकपा एकिकृत समाजवादीले जित हासिल गरेको छ ।
मिथिला नगरपालिकामा क्रमशः वडा नं –१ मा नेपाली कांग्रेसबाट जोगी महतो, वडा नं –२ मा नेकपा एकिकृत समाजवादीबाट बिहारी महतो, वडा नं –३ मा नेकपा एमालेबाट निवर्तमान वडाअध्यक्ष समेत रहेका रामएकवाल महतो, वडा नं.–४ मा नेपाली कांग्रेसबाट चन्द्रबहादुर बुलन, वडा नं.–५ मा नेकपा एकिकृत समाजवादीका रामचन्द्र महतो, वडा नं. –६ मा नेपाली कांग्रेसबाट नन्द किशोर यादव, वडा नं.–७ मा नेपाली कांग्रेसबाट राम बहादुर स्याङदन, वडा नं.–८ मा नेकपा एमालेबाट विरेन्द्र महतो, वडा नं.–९ मे नेकपा एमालेबाट निवर्तमान वडाअध्यक्ष समेत रहेका दिपकजंग थापा, वडा नं.–१० मा नेकपा एमालेबाटै निवर्तमान वडाअध्यक्ष समेत रहेका सविन विक्रम थापा र वडा नं. ११ मा नेकपा एमालकै बेद बहादुर कार्की निर्वाचित भएका छन् ।
यसैबीच मेयरमा निर्वाचित भएको महेन्द्र महतोले खुशियालीमा नगरमा विजयी जुलस गरेका छन् भने उनका समर्थकहरुले नक्टाझिजमा मिठाई समेत बाँडेका छन् । मेयरमा निर्वाचित महतो मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजका बासिन्दा हुन् ।