स्वागतम खबर
महेन्द्रनगर, जेठ ७ ।
धनुषाको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम अहिलेसम्म सार्वजनिक भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, नगराईन नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र मिथिला विहारी नगरपालिकाको परिणाम सार्वजनिक भएको हो ।
यी पालिकाहरुको अन्तिम मतपरिणाम अनुसार हालसम्मको जिल्लाको १० वटा पालिकामा नेपाली कांग्रेस, ३ वटा पालिकामा जनता समाजवादी पार्टी (जसपा), २ वटा पालिकामा नेकपा एमाले र १ वटा पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले प्रमुख पदमा विजयी हासिल गरेका छन् ।
गाउँपालिका तर्फ
निर्वाचन आयोगका अनुसुार लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन भने उपाध्यक्षमा नेपाली कांग्रेसकै फूलकुमारी यादवनी निर्वाचित भएकी छिन् । त्यस्तै औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह र उपाध्यक्षमा समेत एमालेकै पुनम साह निर्वाचित भएका छन । धनौजी गाउँपालिकामा अध्यक्ष पदमा राजकुमार साह र उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी हुन् । त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव यादव निर्वाचित भएका छन् भने उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन् ।
यस्तै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार जयकुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन् । यस्तै बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । बटेश्वरमा गाउँपालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन् ।
नगरपालिका तर्फ
धनुषाको विदेह नगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन् भने उपमेयरमा भने नेकपा एमालेकी आशा झा निर्वाचित भएकी छन् । यता धनुषाधाम नगरपालिकामा पनि नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा बालेश्वर मण्डल र उपमेयरमा कांग्रेसकै विद्या देवी भुजेल दोस्रो कार्यकालका लागि फेरी निर्वाचित भएकी छन् । त्यस्तै, कमला नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका विशेश्वर यादव र उपमेयरमा कांग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन् । यस्तै शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् । मेयरमा जसपाका दिनेश प्रसाद यादव निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् ।
यता मिथिला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन् । मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । त्यस्तै, नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका धनुषाको नगराईन नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका विनयकुमार यादव र उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन् । इम्हर गणेशमान चारनाथ नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका जित नारायण यादव र उपमेयरमा नेपाली कांग्रेसकी तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन् ।
यस्तै धनुषामा नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । जिल्लाको सबैला नगरपालिकामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको हो । माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएकी हुन् । त्यस्तै हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार प्रदीप यादव र उपमेयरमा नेपाली कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छन् । उता, मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन् । मेयरमा कांग्रेसका राजेन्द्रप्रसाद यादव र उपमेयरमा माओवादीकी शोभा देवी साह निर्वाचित भएकी छन् ।
धनुषा जिल्लामा अब दुई पालिका जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको अन्तिम मतपरिणाम आउन मात्र बाँकी रहेको छ । क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम आइतबार दिउँसोसम्म आउन सक्ने सम्भावना छ भने जनकपुरधाम उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने अवस्था देखिएको छ । बाँकी यी दुई पालिकामध्ये क्षीरेश्वरनाथमा नेकपा एमालेका मेयर पदका उम्मेदवार सुखदेव यादव अगाडी छन् भने जनकपुरधाममा स्वतन्त्र तथा कांग्रेसका बागी उम्मेवार मनोज कुमार साहले अग्रता कायमै राखेका छन् ।