स्वागतम खबर
महेन्द्रनगर, जेठ ११ ।
सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ (डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (ईएल) लाई प्रदान गरिने भएको छ ।
दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका यी दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
दुवै पुरस्कार विजेता संस्थालाई ८ जुन २०२२ अर्थात २५ जेठ २०७९ मा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा पुरस्तकृत गरिने जनाइएको छ । विजेता दुवै संस्थालाई २ लाख ५० हजार राशि सहितको पुरस्कार तथा सम्मान प्रदान गर्ने दर्नाल पुरस्कार छनौट समितिल जनाइएको छ ।
यस बाहेक, दर्नाल पुरस्कार छनोट समितिले सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका दुई व्यक्तित्व –लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखन विरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
जातीय अन्यायले ग्रस्त कर्णाली प्रदेशको सुदुर जिल्ला मुगुमा कलाकार तथा लेखक हिरा विजुली नेपालीले नाटक र कलाको सशक्त माध्यमबाट सामाजिक न्यायको अभियानमा योगदान गर्ने उद्देश्य सहित सन् २०१२ मा कर्णाली आर्टस् सेन्टर (केएसी) को स्थापना गरेको थियो । सो संस्थाले विगतका वर्षहरुमा जातीय विभेद विरोधी सडक नाटकहरु प्रदर्शन गर्दै आइरहेको छ भने विभिन्न अभियान मार्फत सो मुगु क्षेत्रमा सांस्कृतिक सम्पदाको दस्तावेजीकरण, अभिलेखन र उत्सव मनाउनुका साथै संस्कृतिबारे प्रश्नहरु समेत उठाउँदै आएको छ ।
यस्तै जातिय रंगभेद्ध, लिंगमा आधारित हिंसा, इस्लामोफोविया, श्वेत श्रेष्ठतावाद र धार्मिक असहिष्णुता अन्त्य गर्ने उद्देश्यका साथ इक्वेलिटी लायब्स (ईएल) अमेरिकामा स्थापना भएको दलित नागरिक अधिकार संस्था रहेको छ । सो संस्थाले सामुदायिक संगठन, कलाकारिता, अनुसन्धान, प्रशिक्षण र डिजिटल सुरक्षा सहित धेरै रणनीति मार्फत शक्ति निर्माण गर्ने कार्य गर्दै आएको छ ।