स्वागतम खबर
महेन्द्रनगर, जेठ १३ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा निर्वाचित भएका नगर प्रमुख सुखदेव यादव आज पदभार ग्रहण गर्नुभएको छ । मेयर यादव पदभार ग्रहण गर्दै नगरभित्रका अशक्त, ज्येष्ठ नागरिक, आपाङ्गता भएका तथा गर्भवती महिलाले सुत्केरी गराउन जाँदा जिल्लाभरिको लागि एम्वुलेन्स सेवा निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
त्यस्तै पशुहरुको पशु स्वास्थ्य विमा लगायतको सेवा निःशुल्क गरिने मेयर यादवले पदभार ग्रहण गर्दै पहिलो निर्णय गर्नुभएको छ । पदभार ग्रहन गर्नुभएका नव निर्वाचित नगर प्रमुख सुखदेव यादव नगरपालिकाबाट दिईने सिफारिसहरु, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, घरबाटो सिफारिस, चार किल्ला सिफारिस, स्थानिय वासिन्दा यकिनको सिफारिस निःशुल्क प्रदान गरिने तथा नगरवासीलाई अन्य करको भार कम गर्न पनि करको दरहरुलाई समेत समायोजन गर्ने निर्णय गर्नुभएको छ ।
हाल जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता ३५ दिन भित्र गराउँदा निःशुल्क नै भएपनि अन्य सेवाहरु बसाईसराई, घरबाटो सिफारिस, चार किल्ला सिफारिस, स्थानिय वासिन्दा यकिनको सिफारिस समेत निःशुल्क गर्ने मेयर यादवले निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुभएको हो ।
शुक्रवार शुभसाइत रहेकाले अधिकांश पालिकाका निर्वाचित नगर प्रमुख, उप प्रमुख र वडाअध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।