स्वागतम खबर
महेन्द्रनगर, जेठ १५ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा ‘सिमान्तकृत समुदायहरुको सवालमा आधारित’ तीन अभिमुखिकरण तालिम आइतवार सम्पन्न भएको छ । मानव अधिकारको लागि महिला तथा एकल महिला समूह धनुषाको आयोजना र KURVE Wustrow को सहयोगमा भएको सो अभिमुखिकरण तालिममा समापन भएको छ ।
तालिममा क्षीरेश्वरनाथ नगरपालिकाको प्रत्येक वडाबाट दुई/दुई जना एकल महिला गरी १० वटै वडाका २० जना एकल महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा लैंगिक समानता, लैंगिक उत्तरदायित्व, सम्वेदनशील र जोखिमपूर्ण अवस्थामा गर्नुपर्ने कार्य, एकल महिलाको समस्या, चुनौती, समाधानका उपाय, न्यायिक सेवाका लागि गर्नुपर्ने तथा ऐन, नियम र कानुनमा उल्लेख भएका सवालहरुको बारेमा सहभागीहरुलाई जानकारी गराइएको छ ।
समाजमा अझैसम्म पनि हट्न नसकेको भेदभाव, छुवाछुत, सामाजिक अवहेलना, बोक्सी आरोप, एकल महिलाले खेप्नु पर्ने दवाव, लाञ्छना लगायतको समस्याबाट कसरी सहज जीवनयापनमा फर्किने र आउने समस्याहरुलाई कसरी समाधान गर्ने लगायत नेतृत्व विकास क्षमता अभिवृद्धि सहितको विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।
तालिममा एकल महिलाहरुलाई पीडा र हिंसाको अवस्थामा न्यायको लागि कसरी अघि बढ्ने, कहाँ जाने, कुन विधि र प्रक्रियामा जाने, तथा एकल महिला समूहले गर्ने सहयोग लगायतको विषयमा प्रशिक्षण दिएको एकल महिला समूह धनुषाकी अध्यक्ष शुभद्रा आलेले जानकारी दिनुभयो ।
तालिमको समापन समारोहमा बोल्दै एकल महिला समूहकी मधेश प्रदेश अध्यक्ष अनिता देवकोटाले तालिमबाट सहभागीहरुले कानुनले दिएको हकअधिकारको विषयमा जानकार भएको र आफ्नो हक अधिकारी, सेवा सुविधा र न्यायिक प्रक्रियामा जानको लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । हाल मधेश प्रदेशमा एकल महिला समूहको सदस्यता लिने एकल महिलाहरुको संख्या २५ हजार रहेको उहाँले जानकारी दिनुभयो ।
सो तालिममा मानव अधिकारको लागि महिला तथा एकल महिला समूहकी मधेश प्रदेश अध्यक्ष अनिता देवकोटा, धनुषा जिल्ला अध्यक्ष शुभद्रा आले र प्रादेशिक अधिकृत कृष्णा बस्नेतले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।
सो तालिम क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७ स्थित ओम एकेडमी बोर्डिंग स्कुलको सभाहलमा संचालन गरिएको थियो ।