काठमाण्डौ, जेठ १६ ।
आइतवार विहानदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जनाकारी दिनु भएको छ । उहाँका अनुसार जहाज मुस्ताङको थसाङ–२ सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
जहाजमा सवार सबैजनाको मृत्यु भएको आशंका गरिएको छ । यद्यपी यसको औपचारिक पुष्टि हुन बाँकी छ ।
सिलवालले ट्विटरमा दुर्घटनाग्रस्त विमानको तस्बिर पनि राख्नु भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको हो ।
आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्क विहीन भएको थियो ।
हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ । सो जहाजमा धनुषाको मिथिला नगरपालिका वडा नं. ११ लोटा टोलका ७ एकै परिवारका सात जना सवार थियो । विमानमा धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका छन्। उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।
तस्बिर : नेपाली सेना