स्वागतम खबर
ढल्केवर, जेठ २२ ।

आज ५ जुन अर्थात विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ ।
वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताउनुभएको छ ।
प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको सन्देशमा उल्लेख छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गइ जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपदबाट जनधनको क्षतिजस्ता असर बढेको बताउनुभएको छ ।
वातारण संरक्षणका लागि विभिन्न सरकार, विभिन्न संघसंस्थाले अभियान चलाएपनि खासै प्रगति भने हुन सकेको छैन् । पर्यावरण संरक्षणका लागि वनजंगलको विाश रोक्नु पर्ने, पर्याप्त संख्यामा बोटविरुवा रोप्नु पर्ने, प्राकृतिक धरोहर र सम्पतिहरुको रक्षा तथा जर्गेना गर्नुपर्ने, सरसफाइमा जागरुकता ल्याउनु पर्ने वातावरण विज्ञहरु बताउँछन् ।