स्वागतम खबर
महेन्द्रनगर, असार ३ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ रमदैया भवाडीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा शुक्रवारदेखि सुरु भएको छ । रमदैया भवाडीको मेडिकल कलेज अगाडी सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा शुक्रवार उद्घाटन गरेपछि सुरु भएको छ ।
सिटिजन्स बैंकका मधेश प्रदेश प्रमुख दिवस सिंह ठकुरीले एक समारोहकाबीच रमदैया भवाडीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।
शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्दै प्रदेश प्रमुख ठकुरीले यो १ सय ९४ औं ब्राञ्चलेस शाखा रहेको जानकारी दिनुभयो । ग्रामिण भेगमा समेत जनतालाई सहज रुपमा बैंकिङ्ग सेवा दिने उद्देश्यले रमदैया भवाडीमा देशको १९४ औं शाखारहित सेवा सुभारम्भ गरेको बताउनुभयो । उहाँले सिटिजन्स बैंकको सबैभन्दा बढी बर्चस्व धनुषा महोत्तरी जिल्लामा रहेको भन्दै अब शहरमुखि मात्र नभई ग्रामिणमुखि बैंकिङ्ग सेवा समेत विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।
रमदैया भवाडीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्दै प्रमुख ठकुरीले सेवा कार्यालयको संचालक तथा प्रमुख स्थानीय शम्भु यादवलाई सेवा सम्झौता अनुमति पत्र, बैंक कर्मचारी परिचय पत्र र आवश्यक सरसम्मान तथा कागजपत्रहरु समेत हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा सिटिजन्स बैंक महेन्द्रनगर धनुषा शाखाका प्रमुख विरेन्द्र कुमार साह, कर्मचारीहरु शुभाष ठाकुर, निर्मल कर्ण, संतोष यादव लगायतका कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यता आफ्नै घरमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा कार्यालयको उद्घाटनको केही बेरमै करिव दुई दर्जन व्यक्तिले खाता खोलाएको प्रमुख शम्भु यादवले बताउनुभयो । उद्घाटन भए लगतै स्थानीय सुरेश यादवले पहिलो व्यक्तिगत बचत खाता खोलाएको प्रमुख यादवले जानकारी दिनुभयो । खाता खोलाउने, रकम जम्मा गर्ने, झिक्ने, फिक्स डिपोजिट गर्न सकिने, ऋण लिन सकिने, रिचार्ज गर्न सकिने तथा देश विदेश बाट आएको पैसा सजिलैसँग लिन र पठाउन सकिने सेवा कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।
यता आफ्नै गाउँको सिटिजन्स बैंकमा पहिलो खाता खोलाएपछि खुशीले गदगद भएका स्थानीय सुरेश यादवले भने –‘अब त हाम्रो घरमै बैंकले सेवा दिन आएको छ, महेन्द्रनगर जनकपुर जानुपर्ने झन्झट हट्यो अब त यतैबाट कारोबार गर्छु ।’
सिटिजन्स बैंकको महेन्द्रनगर धनुषा शाखाले रमदैया भवाडीमा शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि कार्यालय प्रमुख तथा संचालन शम्भु यादवको आग्रहमै स्थानीयहरुलाई सेवामा सहज पहुँच तथा बैंकिङ्ग कारोवारका लागि शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको महेन्द्रनगर शाखाका प्रमुख विरेन्द्र कुमार साहले बताउनुभयो । रमदैया भवाडीमा बैंकिङ्ग सेवा सुरु भएपछि सो क्षेत्रमा पर्ने गोपालपुर, हारसर, प्रष्टोकी, सिरसिया, बनिनियाँ, सपही लगायत गाउँका स्थानीयहरुलाई बैंकिङ्ग कारोबार गर्न सहज भएको छ ।