स्वागतम खबर
जनकपुरधाम, असार १५ ।
आज असार १५ गते अर्थात १९ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । देशभरका किसानले धान रोपेर आज राष्ट्रिय धान दिवस मनाएका छन् । असार १५ को दिन च्यूरा दही खाएर धान रोपाई गरि दिवस मनाउने चलन छ । दही च्यूराले शरीरमा उर्जा दिने भएकाले धान रोपाईसँगै दही च्यूरा खाने गरिएको हो ।
यसै क्रममा धनुषाको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियाँले एक विशेष कार्यक्रमको आयोजना गरि १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा सो कार्यक्रम गरिएको हो । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मूल नाराका साथ धान दिवस मनाएको छ ।
धान दिवस तथा रोपाई महोत्सवलाई सम्बोधन गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्दा धान बालीमा जैविक विविधताको उपयोग र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताउनुभयो । मन्त्री यादवले मलखाद संघ सरकारले खरिद गर्ने, प्रदेश सरकारले कोटा निर्धारण गर्ने र स्थानीय सरकारले वितरण गर्ने गरिरहेको भन्दै मधेश प्रदेश सरकारले अहिले युरिया, फसफोरस र पोटास जन्य वस्तु बन्ने एमपिटिलाई विस्तारै विस्थापित गर्दै जानुपर्नेमा जोड दिनुभयो । उनले हाम्रो पराम्परागत तरिका गोबर, गड्यौला तथा अन्य उपायबाट मल उत्पादन गर्न आग्रह गर्नुभयो । मलखाद उपयोगका कारण खाद्यान्न उत्पादनमा भईरहेको समस्यालाई अन्त्य गर्न आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।
यता कार्यक्रममा वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका निमित्त संयोजक देवनिधी तिवारीले धानबालीले देशको अर्थतन्त्रमा करिव २० प्रतिशत योगदान दिएको जानकारी दिनुभयो । उहाँले सर्वाधिक धान उत्पादनमा नेपाल विश्वमा १६ औँ स्थानमा रहेको बताउनुभयो । किसानहरुका लागि धानबाली उत्पादन गर्ने नयाँ प्रविधि र उपायहरुबारे आवश्यक अनुशनधान गरिरहेको दावी गर्नुभयो । हालसम्म धानको ९२ वटा जात विकास भईसकेको जानकारी दिँदै उहाँले वैज्ञानिक अन्य नयाँ नयाँ धानको जात विकास गरी आयातलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको सचिव डा. नम्रता सिंह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायत कृषि सम्बन्धी विभिन्न कार्यालयका प्रतिनिधी र स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे सुरमे लोक लयका गीत गाउँदै धान रोप्ने र थालपानि खेलेर मनारेञ्जन गर्ने चलन पनि रहेको छ ।
यसैबीच अहिलेसम्म मधेश प्रदेशमा करिब ११ प्रतिशत धान मात्र रोपाई हुन सकेको छ । कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा कुल ५ लाख ५५ हजार २ सय १८ हेक्टर भन्दा बढी क्षेत्रफलमा धान लगाउने गरिएको भए पनि हालसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ । मलखाद्यको अभावमा वर्षेनी धान खेती घट्दै गएको देखिन्छ । मल खाद्य समयमा नपाएपछि मेहनत अनुसारको धान उत्पादन समेत नहुने भएकाले धान खेती घटाउँदै लगेको किसानहरु बताउँछन् ।