स्वागतम खबर
ढल्केवर, असार १८ ।
धनुषाको मिथिला नगरपालिकामा शनिवार बालबालिका तथा किशोर किशोरीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मिथिला नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र युनिसेफको संयुक्त आयोजनामा बालबालिका तथा किशोर किशोरीहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सो अन्तरक्रियामा मिथिला नगर बाल संजालको सम्पूर्ण समिति तथा पदाधिकारीहरुको सहभागिता रहेको नगर बाल संजालका अध्यक्ष दिवेश कुशवाहाले बताएका छन् ।
अन्तरक्रियामा समाजमा रहेका मनपर्ने पक्ष र मन नपर्ने पक्ष बारे समूहमा विचार विमर्श गरी समाजमा भएका सुरक्षित ठाँउहरु र असुरक्षित ठाँउहरु बारेमा चित्रण गरिएको छ । यस्तै अगामी ५ वर्ष भित्रमा कस्तो मिथिला नगरपालिका बनाउने परिकल्पना समेत चित्रण मार्फत गरिएको अध्यक्ष कुशवाहाले जानकारी दिए ।
चित्रणको माध्यमबाट आएको सुझावहरु संकलन गरी युनिसेफको कार्यलयमा हस्तान्तरण गरेको र छलफलबाट आएका समस्याहरु चाँडै सामाधान गर्ने उद्देश्यका साथ युनिसेफसँग सहकार्य गर्ने मिथिला नगरपालिकाले जनाएको छ ।