स्वागतम खबर
जनकपुरधाम, साउन १४ ।

धनुषाको ढल्केवरमा पहिलो रेडियो एफएम खुलेको छ । धनुषाको मिथिला नगरपालिका केन्द्र ढल्केवरबाट रेडियो ढल्केवर ९१.३ मेगाहर्जको परिक्षण प्रसारण शुरु भएको छ । ढल्केवरकै पहिलो रेडियोको रुपमा स्थापित रेडियो ढल्केवर ९१.३ मेगाहर्जले शुक्रवार रातिदेखि परिक्षण प्रसारण सुरु गरेको छ ।

मिथिला सागर मिडिया प्रा.लि. ढल्केवर धनुषाद्धारा रेडियो ढल्केवर ९१.३ मेगाहर्ज संचालन गरिएको छ । परिक्षण प्रसारणपछि चाँडै नियमित प्रसारण सुरु गर्ने रेडियो ढल्केवरका प्रबन्ध निर्देशक राजेश महतोले जानकारी दिनुभयो ।

रेडियोको नियमित प्रसारण सुरु भएपछि समाचार, सूचना, सन्देश, विभिन्न मनोरञ्जनका कार्यक्रम, गीतसंगीत लगायतको कार्यक्रमहरु संचालन गरिने प्रबन्ध निर्देशक महतोले बताउनुभयो । १०० वाट क्षमता रहेको रेडियो ढल्केवर, धनुषा, महोत्तरी, सिन्धुली लगायतको जिल्लामा सुन्न सकिने उहाँले बताउनुभयो । ९१ दशमलव ३ मेगाहर्जमा सुन्न सकिने रेडियो ढल्केवर केही समयपछि स्वागतमखबर डटकम अनलाईनबाट संभारभरि सुन्न सकिनेछ ।