परवेज आलम, संयोजक निक शिक्षा दिअ परियोजना, सबैला नगरपालिका, धनुषा
परवेज जी, सबैला नगरपालिकामा आसमान नेपालले के कस्तो परियोजन संचालन गरेको छ त ?
सबैला नगरपालिकामा आसमान नेपालले हाल तीन वटा परियोजना संचालन गर्दै आईरहेको छ । शिक्षा, स्वास्थ्य र बालविवाह न्यूनिकरण क्षेत्रमा आसमानले सबैला नगरपालिकामा परियोजना संचालन गर्दै आएको छ । नेपालले नर्वेजियन दुतावासको सहयोगमा आसमानले निक शिक्षा दिअ परियोजना संचालन गरिरहेको छ । निक शिक्षा दिअ परियोजना मार्फत हामीले सबैला नगरपालिकामा रहेको १३ वटै वडाको जम्मा ३५ वटा विद्यालयमा कार्य गरिहेका छौं । जसमा २५ वटा सामुदायिक विद्यालय छ भने १० वटा मदरसा रहेको छ ।
निक शिक्षा दिअ परियोजनाको उद्देश्य के हो ?
हो, यो निक शिक्षा दिअ परियोजनाको मुख्यतयाः चारवटा उद्देश्य रहेको छ । जसमा पहिलो उद्देश्य जति पनि बालबालिका छन् विद्यालय उमेरका ४ वर्ष देखि १८ वर्षका बीचका, ती सबै बालबालिकालाई विद्यालयमा ल्याउने र नामाकंन गराउने, टिकाउने हो, दोस्रोमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, तेस्रोमा सिमान्तकृत तथा अपांग बालबालिकालाई पनि सहयोग गरेर विद्यालयमा ल्याउने, उनीहरुलाई आवश्यकता अनुसारको शैक्षिक सामग्री, व्हील चेयर, बैशाखी लगायतको सामग्री सहयोग गर्ने र चौथोमा जति पनि तीन वर्षको अवधीमा सिकाइ भएको छ, त्यो स्थानीय सरकारलाई जानकारी गराउने, बताउने र महत्वपूर्ण बुँदाहरुलाई स्थानीय सरकारले कसरी कार्यान्वयमा ल्याउने तथा अपनाउने रहेको छ । यो परियोजनाको अवधी अगस्ट २०१९ देखि सेप्टेम्वर २०२२ सम्म रहेको छ ।
यो परियोजनाले सबैला नगरपालिकामा के–के कार्यहरु गरिरहेको छ ?
हो, हामीले निक शिक्षा दिअ परियोजनाले सबैला नगरपालिकाको २५ वटा सामुदायिक विद्यालय र १० वटा मदरसामा कार्य गरिरहेका छौं । यसको लागि एक जना परियोजना संयोजक, ६ जना सामाजिक परिचालक र १० जना ठूली दिन रहेका छन् । हामीले परियोजना अन्तर्गत जो बालबालिका विद्यालय बाहिर छन् उनीहरुलाई विद्यालयमा ल्याउने, पढाईको समयमा कक्षा र विद्यालयमा टिकाउने, सिकाउने, विद्यालयका बाहिर रहेको बालबालिकाहरुको तथ्यांक र घरधुरी सर्वेक्षण, विद्यालय उमेरका बालबालिकाहरु घरमा छन् भन्ने त्यो घरमा क्रसको टिक मार्क लगाउने कार्य गरेका छौं । पालिकामा शिक्षामा सुधारका लागि बालमैत्री, अपांगमैत्री, लैंगिकमैत्री, खानेपानी, सरसफाइ र स्वच्छताको सवालमा समेत कार्यहरु गर्दै आएका छौं । विद्यालयमा विद्यार्थीहरुहरु नियमित छन् वा छैनन्, शिक्षकहरुको क्षमता विकासको लागि समेत विभिन्न तालिम तथा दक्षता अभिवृद्धि हुने खालको कार्यहरु विगत तीन वर्षदेखि गरिरहेका छौं । यस्तै शिक्षकहरुलाई पढाउने भन्दा पनि सिकाउने कुरामा बढी जोड दिने कार्य गरिरहेको छ ।
नियमित, अनियिमित कसरी छुट्याउनु भएको छ ?
हो, बालबालिका विद्यालयमा जान्छ भने त्यो नियमित हुनुपर्छ र तर कुनै बालिकाबालिका यदि महिनामा ७ दिन लगातार विद्यालयमा गएन भने भने त्यो अनियमित बालबालिका हुन्छ । त्यस्ता बालबालिकाहरुलाई हामीले घरभेट गरेर विद्यालयमा ल्याउँछौ । परियोजना अन्तर्गत कार्यरत सबैजनाले घर घरमा गएर अनुगमन गर्ने, विद्यालयमा जाने बालबालिकाहरु नियमित जाने गरेको छ, छैन, नियमित जाने गरेको छैन भने किन गएन खोजी गर्ने र फेरी उनीहरुलाई घरभेट गरेर विद्यालयम ल्याउने कार्य गर्दै छौं ।
कतिजना बालबालिका अझै अनियमित छन् ?
अब अहिले चाँही कुनै पनि बालबालिका विद्यालय बाहिर छैन् । करिव दुई महिनाअघि सम्म सबैला नगरपालिकामा भनौन् ६७ जना बालबालिका विद्यालयमा अनियमित जस्तै थियो । उनीहरुको विद्यालयमा पहुँच भएर पनि नाकांकन भने हुन सकेको थिएन् । उनीहरुलाई त हामीले विद्यालयमा ल्यायौं, विद्यालयको रजिष्टरमा नाम त लेखियो तर जन्मदर्ता नभएकै कारण नामांकन चाही हुन सकिरहेको थिएन् । खोजी गर्दै गर्दा जन्मदर्ता नभएका कारण उनीहरुको नामांकन हुन नसकिरहेको थाहा भयो । त्यस पश्चात फेरी अभियान चलाएर ती ६७ जना बालबालिकालाई पनि जन्मदर्ता बन्न सक्नेको जन्मदर्ता बनाउन लगाएर बाँकीलाई वडाबाट जन्म भएको प्रमाणित गराएर विद्यालयमा नियमित ल्याउने कार्य पनि गर्न भ्याएका छौं ।
ती बालबालिकाहरुको अभिभावकले किन जन्मदर्ता नबनाएको होला, यहाँहरुले कस्तो पहल गर्नुभएछ ?
हो, हामीले बाल संरक्षणमा पनि कार्य गर्दै आएका छौं, र आसमान नेपालको बुझाइ के छ, भने जो बालबालिका ४ वर्ष देखि लिएर १८ वर्ष उमेर समूहका छन् र विद्यालयमा छैन् भने त्यो सिधैं बालश्रम हो । विद्यालय उमेरका बालबालिका विद्यालयमा जानै पर्ने हुन्छ । अब पालिकामा ६७ जना बालबालिकाको जन्मदर्ता नहुनुमा विभिन्न कारणहरु छन् । कसैको आमाबुवाको नागकरिता छैन्, अरु ठाउँबाट बसाइँ सरी आएको छ र कागजपत्र दुरुस्त नभएको पाएका छौं । जसको कारण ती बालबालिकाको जन्मदर्ता बनाउन कठिनाई भएको छ । यसमा खास गरी ६७ वटै बालबालिका सिमान्तकृत र मुसहर समुदायका बालबालिका छन् । अभिभावकहरुको कागजपत्र दुरुस्त गर्न र बालबालिकाको जन्मदर्ता बनाउन हामी आफ्नो स्तरबाट सम्बन्धित निकायमा पहल गरेका छौंं र ती ६७ जना बालबालिकालाई भने विद्यालयमा नियमित गरेका छौं ।
परियोजनाको अगामी योजनाहरु के छन् ?
हो, हामी निक शिक्षा दिअ परियोजना मार्फत हालसम्म बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, टिकाउने कुरामा बढी जोड दिएका छौं । जो बालबालिकाहरु विद्यालय पहुँच बाहिर छन्, विद्यालयको उमेर भएर पनि जो विद्यालयमा आउँदैनन्, ती बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने दिवा समय विद्यालयमा टिकाउने, बसाउने, पढाउने, सिकाउने कार्यमा बढी जोड दिएका छौं । अब हामीले विद्यालय बाहिर रहेका पालिकाभित्रका अधिकांश बालबालिकाहरुलाई विद्यालयमा ल्याईसकेका छौं । अब बालबालिकाहरुलाई अगामी दिनमा विद्यालयमा बसाउने, गुणस्तरीय र सिकाइमैत्री तथा व्यवहारिक शिक्षामा अझै जोड दिनुपर्छ । बालबालिकालाई टिकाउने, जन्मदर्ताकै कराण नामाकंन नछुटोस् हिसावले बढी कार्यहरु गर्नुपर्ने हुन्छ र त्यसै योजनाका साथ परियोजनाको हामी अघि बढि रहेका छौं ।