स्वागतम खबर
महेन्द्रनगर, भदौ १ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.८ दिगम्वरपुरमा बुधवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका आँखाको रोगीहरुलाई मध्यनजर गर्दै क्षीरेश्वरनाथ नगरपालिका वडा नं.८ दिगम्वरपुरमा भएको निःशुल्क आँखा शिविरमा २ सय १५ जनाले आँखाको जाँच गराएका छन् ।
शिविरमा २ सय १५ जनाको आँखा जाँच गर्दा ४६ जनामा मोतियाविन्दु रोग फेला परेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केवरका दृष्टि विशेषज्ञ सुभाष यादवले जानकारी दिनुभयो । आँखा जाँच गराएका र आँखा समान्य समस्या देखिएका विरामीहरुलाई औषधी समेत प्रदान गरिएको थियो ।
सो शिविर रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केवर र क्षीरेश्वरनाथ नगरपालिका तथा वडा नं. ८ को कार्यालयको सहयोगमा आधारभूत स्वास्थ्य सेवा केन्द्र दिगम्वरपुरमा शिविर संचालन गरिएको थियो ।
शिविरमा मोतियाविन्दु भेटेका आँखाका विरामीहरुको भदौ ३ गते शुक्रवार अप्रेशन गरिने अस्पतालले जनाएको छ । यता शिविरमा मोतियाविन्दु भेटेको आँखाका विरामीहरुलाई मोतियाविन्दुको निःशुल्क आँखा अपे्रशनको लाभ लिन वडाअध्यक्ष मोदकुमार महतो मोदीले आग्रह गर्नुभयो । उहाँले मोतियाविन्दुका रोगीहरुको अप्रेशनका लागि वडा कार्यालयले नै गाडीको व्यवस्था गरेर घरबाट आँखा अस्पताल ढल्केवर लगिने र अप्रेशनपछि घरमा पुगाईदिने बताउनुभयो ।