स्वागतम खबर
ढल्केवर, भदौ १० ।
धनुषाको ढल्केवरमा दलित महिला केन्द्र नेपालले लैङ्गिक हिंसाका मुद्दाहरुमा न्याय वितरण प्रणालीको प्रभाविकारिता विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, र गणेशमान चारनाथ नगरपालिका गरी पाँच वटा स्थानीय तहको जनप्रतिनिधि, सुरक्षाकर्मी, मानव अधिकारीकर्मी तथा सञ्चारकर्मीको सहभागितामा रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतका अधिवक्ता सानु डंगोलले लैङ्गिक हिंसाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता डंगोलले हिंसाका पहिचान, हिंसाका कारण र हिंसा गर्ने व्यक्तिलाई कानूनी सजायको बारेमा जानकारी गराउनुभएको थियो ।
छोरा र छोरीबीचको विभेद, दाइजो प्रथा, बोक्सी जस्ता अन्धविश्वासका कारण समाजमा लैङ्गिक हिंसा हुने गरेको उहाँले बताउनुभयो । प्रस्तुतिको क्रममा अधिवक्ता डंगोलले महिला हिंसा अन्त्यका लागि विभिन्न कानून, नीति, कार्यविधि तथा मापदण्डको स्थितिको बारेमा जानकारी प्राप्त हुने र कानूनको प्रयोग गर्ने क्रममा एवं व्यवहारमा देखिएका कमी कमजोरी हटाउन आवश्यक भएको भन्नुभयो ।
सो अन्तरक्रियामा सहभागहिरुलाई स्वागत गर्दै दलित महिला केन्द्र नेपालका कार्यक्रम संयोजक सरुमा विश्वकर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।