स्वागतम खबर
जनकपुरधाम, भदौ १५ ।
दुई बालिकालाई फकाएर बेच्नका लागि भारत लग्दै गर्दा धनुषा प्रहरीले बुधवार तीन जनालाई पक्राउ गरेको छ । दुई बालिकालाई फकाएर बेच्न लगिरहेको सूचनाकबा आधारमा ईनर्वा रेल्वे स्टेशनबाट तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ कमलानगर टोलका २६ वर्षीय रूपेश कुमार मिश्र, वडा नम्बर–२३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका–२ विल्टाहा टोलका २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम–जयनगर रेलबाट भारततर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । दुवै बालिकालाई डेराबाट फकाएर ईनर्वा रेल्वे स्टेशन हुँदै भारतको दिल्लीतर्फ बेचबिखन गर्ने उद्देश्यले लगि रहेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरी टोलीले बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गरेको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो । तीनै जनालार्य नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।