स्वागतम खबर
महेन्द्रनगर, असोज २२ ।
धनुषाको मिथिला नगरपालिका नक्टाझिजस्थित हिमालय युवा क्लवको आयोजनामा भएको नगरस्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ । मिथिला नगरपालिका वडा नं. २ नक्टाझिज र वडा नं. ५ श्रीपुरबीच भएको फाइनल खेल भएको छ । सो खेलमा मिथिला नगरपालिका वडा नं. २ नक्टाझिज ८८ रनले जित हात पार्दै उपाधी जितेको छ ।
टस जितेर पहिलो व्याटिंग गरेको वडा नं. २ ले निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाएको थियो । जवावमा १ सय ५२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको वडा नं. ५ श्रीपुर १२ ओभर ३ बलमा अलआउट हुँदै ६३ रनमा सिमिति भएको थियो ।
खेलमा नक्टाझिजका लागि महादेव सिंह ५ र अनिल गौतम ३ विकेट लिएका थिए । फाइनल खेलमा नक्टाझिजका लागि मनिष कुमार सिंहले सबैभन्दा बढी ४९ रन बनाएका थिए । प्रतियोगितामा प्रथम भएका नक्टाझिज टिमलाई ट्रफी सहित १५ हजार नगर पुरस्कार प्रदान गरिएको छ । यस्तै दोस्रो भएको श्रीपुर टिमलाई ८ हजार नगद सहित ट्रफी प्रदान गरिएको छ । यस्तै दुवै टिमका खेलाडीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको हिमालय युवा क्लवका अध्यक्ष शिवराम महतोले जानकारी दिनुभयो ।
यता क्रिकेट प्रतियोगिताको म्यान अफ दि सिरिज र बेस्ट सिक्सर ट्रफी हिमालय युवा क्लवका दिपजल श्रेष्ठलाई प्रदान गरिएको छ भने म्यान अफ दि म्याच र बेस्ट ब्याट्स म्यानको ट्रफी मनिष कुमार सिंहलाई प्रदान गरिएको छ । यस्तै बेस्ट फिल्डरको ट्रफी श्रीपुर टिमका रघु सिंह र बेस्ट बलरको ट्रफी रोशन सिंहलाई प्रदान गरिएको क्लवले जनाएको छ । प्रतियोगिता हिमालय युवा क्लवको खेल मैदानमा भएको थियो ।