ढल्केवर, असोज २३ ।
आज कोजाग्रत पूर्णिमा मनाईदै छ । दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर कोजाग्रत मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिने लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुनेछ ।
आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन आजै समाप्त हुन्छ ।
आजै बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । यस्तै पूर्णमा व्रत, कार्तिक स्नान समेत आजदेखि आरम्भ हुनेभएकाले कात्तिक स्नान गर्ने र आकाशदीप दान गर्ने चलन रहेको ।