स्वागतम खबर
जनकपुरधाम, कार्तिक ४ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखका १२औं साधारणसभा शुक्रवार जनकपुरधाममा सम्पन्न भएको छ । साधारणसभाले सांगठनिक, आर्थिक प्रतिवेदन सहित ७ बुँदे भावि कार्यनीति पारित गरेको छ । साधारणसभाको बन्द शत्रमा सचिव बटुनाथ झाले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष रामकमल सिंहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर छलफल र सल्ला सुझावसहित सभाबाट पारित गरिएको छ । नेपाल पत्रकार महासंघको देशभरिका जिल्ला शाखाहरुमध्ये धनुषा शाखाले नै पहिलो नम्बरमा साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाबाट श्रमजिवि तथा कलमजीवि पत्रकारहरुको हकमा श्रम कानून बमोजिम लागू गराउन सञ्चारमाध्यमको अनुगमन गर्ने, पत्रकारहरुको दक्षता अभिबृद्धिका लागि नयाँ तथा पूराना पत्रकारहरुको हकमा तालिमको व्यवस्थापन गर्ने, महासंघको सदस्यता वितरण तथा विधानको मार्ग निर्देशअनुसार कामकारवाही अघि बढाउने, विज्ञापन प्रणालीलाई एकद्वारा प्रणालीबाट वितरणका लागि समानूपातिक विज्ञापन प्रणाली लागू गराउन पहल गर्ने र पत्रकारितामा महिलाको सक्रिय सहभागिताको लागि विशेष योजना ल्याउने लगायत ७ बुँदे भावि कार्यनीति तय गरेको छ ।
यता साधारणसभाको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले निर्वाचनको समयमा पत्रकारहरूले अmभै गम्भीर भएर कलम चलाउनुपर्नेमा जोड दिएका छन् । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारितालाई दोस्रो पेशाको रुपमा राख्नेहरूलाई पत्रकारिता छाड्न आग्रह गर्दै स्थानीय तहको विभिन्न चुनावमा भाग लिएका देश भरिका धेरै पत्रकारहरूको सदस्यता खारेज गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको पेशागत सुरक्षाका तथा भौतिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ लागि परेको जानकारी दिँदै निर्वाचन आचारसंहिताको नाउँमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै काम नगर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । यता मन्तव्यकै क्रममा विशिष्ट अतिथि प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रमा चाटुकारिता बढ्नु चिन्ताको विषय भएको बताउँदै पत्रकारहरू निष्पक्ष भएर कलम चलाउनुपर्ने बताउनुभयो ।
शुभकामना मन्तव्यकै क्रममा अतिथि नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बलराम सुवेदी समाजको रूपान्तरण तथा गलत प्रवृत्तिको विरुद्धमा पत्रकारिता जगत सशक्त रुपमा अगाडी बढ्नुको विकल्प नरहेको बताउनुभयो । यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पत्रकारहरू पार्टी पत्रकारिताबाट माथि नउठेसम्म निष्पक्ष पत्रकारिताको कल्पना गर्न कठिन हुने भन्दै निष्पक्षताका लागि कमल चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यमा भएको शाखाको १२ औं साधारणसभा भएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति स्वर्गीय माधव आचार्यको श्रीमती तुलसा आचार्य, पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार, पूर्व सभापति उमेश साह तथा पूर्व अध्यक्ष अनिल मिश्रलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।