स्वागतम खबर
महेन्द्रनगर, कार्तिक १६ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा सरसफाइमा अभियान कडाइका साथ संचालन हुने भएको छ । बुधवार वडा कार्यालयको आयोजनामा भएको वृहत्त बैठकले वडाभरि सरसफाइ अभियान चलाउने र सडक अतिक्रमण गरी सडकको मापदण्ड भित्र राखेको सरसामग्री हटाएर सडक छेउ खाली गराउने कार्य कडाइका साथ संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले यहि मंसिर ५ गतेसम्मको समय तोकेर वडाभरिको मुल सडक लगायत सबै शाखा सडकहरुमा बाटो अतिक्रमण गरी राखिएको सरसामग्री, गाईवस्तु, मल, गाडी लगायतको सबै समान हटाएर मापदण्ड अनुसार सडक पेटी खाली गर्न र सडक सफा राख्न वडाबासीमा अपिल गरेको छ ।
मिथिला नगरपालिका २ का वडाअध्यक्ष विहारी महतोको अध्यक्षता तथा नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको वडाको वृहत्त बैठकले सो निर्णय गरेको हो । बैठकले सडक पेटी अतिक्रमण गरी सरसामग्री राख्ने सम्बन्धित वडावासीलाई सडक खाली गर्न मंसिर ५ गतेसम्मको समय दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले वडाको अभियानमा भरपुर सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले वडा नं.२ लाई पालिकाकै नमुना वडाको रुपमा आफुले हेर्न चाहेको बताउँदै यसको लागि पालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । वडा कार्यालय, सरसफाइ समिति तथा अभियानकर्ता युवाहरुले वडामा देखाएको सक्रियताप्रति धन्यवाद दिँदै कुनै भेदभाव र काखापाखा नगरी सडक अतिक्रम खाली गराउन, सरसफाइ अभियान कडाइका साथ संचालन गरी वडालाई नमुना बनाउन सबैलाई आग्रह गर्नुभयो ।
यता बैठकलाई सम्बोधन गर्दै वडाअध्यक्ष विहारी महतोले मंसिर ५ गतेभित्र सडक पेटी खाली नगरेमा र वडाको सूचनालाई अटेर गरेमा सडक किनारमा रहेको सबै प्रकारका सरसामग्री बलपूर्वक खाली गर्ने र सम्बन्धित व्यक्तिलाई नियमानुसार जरिवाना सहित कारवाही गर्ने निर्णय गरिएको बताउनु भयो ।
उहाँले सडकमा कसैले पनि पराल, उखुको सिठ्ठी, दाउर समेत राख्न नपाउने भन्दै राखेको पाइएमा सम्बन्धित व्यक्तिलाई नियमानुसार कारवाही हुने जानकारी दिनुभयो । सो बैठक बाटै वडामा पूर्ण सरसफाइ अभियानलाई संचालन गर्न र निगरानी गर्न वडास्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति समेत पुर्न गठन गरेको छ । बैठकमा वडाका जनप्रतिनिधी, संघसंस्था, युवा क्लवका प्रतिनिधी, स्थानीय राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
यसअघि दिपावलीमा सिक्स लेनको सडकको पार्क खाली गराई सरसफाइ गरिएको थियो । मिथिला नगरपालिका र वडा कार्यालयको नेतृत्वमा हिमालय युवा क्लवको समन्वयमा सो कार्य गरिएको थियो ।