स्वागतम खबर
ढल्केवर, कार्तिक २५ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरस्थित श्री शिव शक्ति कृषि सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । श्री शिव शक्ति कृषि सहकारी संस्था लि. दिगम्वरपुरका अध्यक्ष केशवलाल सिंहको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीको प्रमुख आतिथ्यमा संस्थाको ११औं साधारणसभा मनाइएको छ । क्षीरेश्वरनाथ नगरपालिकाका ८ का वडाअध्यक्ष मोदकुमार महतो (मोदी) को विशिष्ठ आतिथ्यमा भएको साधारणसभामा रक्तदान तथा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
सो अवसरमा संस्थाको आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । साधारणसभामा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार संस्थामा हाल शेयर पूँजी ९ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको छ । जम्मा ४ सय ९६ शेयर सदस्य रहेको संस्थामा पुरुष शेयर सदस्य संख्या ३ सय ४७ रहेको छ, भने महिला शेयर सदस्य संख्या १ सय ४९ जना रहेको छ ।
संस्थाले अहिलेसम्म १ करोड ५ लाख ६५ हजार २ सय ३१ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा यस आर्थिक वर्षमा व्याज तथा विविध क्षेत्रबाट कुल १७ लाख ९६ हजार ६ सय २७ रुपैयाँ आम्दानी भएको छ, भने १४ लाख १० हजार ३ सय ४९ रुपैयाँ खर्च भएको आयव्यय विवरणमा उल्लेख छ । संस्थाले यस वर्षमा ३ लाख ८६ हजार २ सय ७८ रुपैयाँ नाफा गरेको छ । क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरस्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न गरेको छ । सो अवसरमा संस्थाका पदाधिकारी, शेयर सदस्यहरुको उपस्थिति रहेको संस्थाका सचिव परमेश्वर सिंहले जानकारी दिनुभयो ।
यसैबीच श्री शिव शक्ति कृषि सहकारी संस्था लि.दिगम्वरपुरको ११औं वार्षिक साधारणसभाको अवसरमा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
यस्तै यस वर्षको एसईई परीक्षामा उत्कृष्ट तथा विशिष्ट अंक ल्याउने श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान पनि गरेको संस्थाले जनाएको छ ।
यता साधारणसभाकै अवसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी गरी ९ वटा स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । हाजिरी जवाफमा महेन्द्रनगरको दर्शनिया रामेश्वरसिंह कुशवाहा एकेडमीका विद्यार्थीहरुले प्रथम स्थान ल्याएका छन् । यस्तै गंगोत्री स्कुलले दोस्रो र शारदा बोर्डिंग स्कुल तेस्रो स्थान ल्याएका छन् । तीन वटै स्कुलको अंक जुधेपछि गोला प्रथाद्धारा विजेता टुंग्याइएको थियो । हाजिरी जवाफ प्रतियोगितामा जित हासिल गरेका स्कुल र विद्यार्थीहरुलाई प्रमाण पत्र, ट्रफी सहित सम्मान गरिएको संस्थाले जनाएको छ ।