स्वागतम खबर
महेन्द्रनगर, मंसिर २८ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा बुधवार विहान प्रसुती गृह (बर्थिङ्ग सेन्टर) निर्माणको लागि जगको शिलान्यास गरिएको छ । नक्टाझिजस्थित स्वास्थ्य चौकीको कम्पाउण्डभित्रै रहेको जग्गामा बर्थिङ्ग सेन्टरको लागि जगको शिलान्यास गर्दै निर्माण कार्य शुरु गरिएको छ । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले सो बर्थिङ्ग सेन्टरको शिलान्यास गर्नुभएको छ ।
स्थानीय स्वर्गीय जगदेव महतो तथा उहाँकी श्रीमति दुखनी देवी महतोले स्वास्थ्य चौकीका लागि २०३८ साल श्रावण महिनामै दानमा दिनुभएको ५ कठ्ठा ४ धुर जग्गामै जग शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको बर्थिङ्ग सेन्टर भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भु प्रसाद ढकालले जानकारी दिनुभयो । बर्थिङ्ग सेन्टरको शिलान्यास कार्यक्रममा मिथिला नगरपालिका वडा नं. २ का वडाअध्यक्ष विहारी महतो, वडासदस्य जोगी महतो, महिला वडासदस्य सावित्रीदेवी कुशवाहा, जग्गादाता परिवारका धर्मनाथ महतो, जिवछ महतो, रामप्रसाद महतो, भगलु महतो, रामनारायण महतो, स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र साह लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रममा जग्गादाता स्वर्गीय जगदेव महतोका श्रीमति दुखनी देवी महतोलाई स्वास्थ्य चौकीले दोसल्ला ओढाई सम्मान गरेको छ ।
मधेश प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गतका सामाजिक विकास इकाई जनकपुरधामको सहयोगमा कुल २६ लाख ६७ हजार ३ सय ४७ रुपैयाँको लागतमा सो बर्थिङ्ग सेन्टर निर्माण गर्न लागिएको छ । निर्माण हुने सो बर्थिङ्ग सेन्टरमा प्रसुती गृहका लागि एउटा हल, एउटा अफिस कोठा र शौचालय रहने छ । सम्झौता अनुसार २०८० बैशाख मसान्तसम्मा बर्थिङ्ग सेन्टर निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष ढकालले बताउनुभयो ।