स्वागतम खबर
ढल्केवर, पौष ६ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत नीति तथा कार्यक्रम र बजेट दशौं नगरसभाबाट पारित गरेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवको अध्यक्षतामा बुधवार सम्पन्न दशौं नगरसभाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
यसअघि गत असार १० गते भएको दशौं नगरसभाले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र ६९ करोड ११ लाख २७ हजारको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।
यस्तै नगरसभामा आर्थिक ऐन, विनियोजन ऐन र अन्य समसामयिक विषयहरुमा समेत छलफल गरी निर्णय पारित गरेको नगर प्रमुख यादवले बताउनुभयो । नगरसभामा नगर प्रमुख यादवले नगरपालिकाबाट दिईने सिफारिसहरु, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, घरबाटो सिफारिस, चार किल्ला सिफारिस, स्थानिय वासिन्दा यकिनको सिफारिस निःशुल्क प्रदान गरिने जानकारी समेत दिनुभयो ।
सो नगरसभामा नगरपालिकाका उपमेयर रचना माथेमा, विभिन पार्टीका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, लगायत नगरवासी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अडियो : नगर प्रमुख सुखदेव यादवले दर्शौ नगरसभालाई सम्बोधन गर्दै भन्नुभयो