स्वागतम खबर
ढल्केवर, पौष २९ ।
धनुषाको मिथिला नगरपालिकास्थित मिथिला नगर पत्रकार संजाल ढल्केवरको दोस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संजालका अध्यक्ष विनोद कुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ ।
संजालको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख महतोले तथ्यमा टेकेर नगरको समग्र विकासका लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । आफु ५ वर्षका लागि निर्वाचित भएर मिथिला नगरपालिकाको विकासकै लागि आएको बताउँदै नगर प्रमुख महतोले विभिन्न ऐन नियमका कारण केही कार्य तथा योजनाका गतिविधी चलाउन केही ढिला भएपनि अबको दिनमा नगरका कार्यहरु द्रुतगतिमा अगाडी बढ्ने बताउनुभयो । उहाँले निर्वाचित भएर आफु आएपछि काम गर्न खोज्दा पनि विभिन्न ऐन र कार्यविधिको अभावमा उल्लेख्य प्रगति हुन नसकेको भन्दै अब नगरपालिकाले विभिन्न कार्यविधि तथा नियमहरुले बनाएर कार्यको सुरुवात गर्न थालेको जानकारी दिनुभयो । उहाँले मिथिला नगरपालिकाको बहुप्रतिक्षित योजना ट्रमा सेन्टर अन्यन्त्र सार्न विभिन्न जालझेल र षड्यन्त्र भएपनि अब पहिला तोकिएकै स्स्थान मिथिला नगरपालिका ७ गैरी टोलमै ट्रमा सेन्टर निर्माण हुने दावी समेत गर्नुभयो । मिथिला नगरपालिका १ स्थित बल्डारामा १५ शैयाको अस्पताल निर्माण तथा स्नातक तहको अध्ययनका लागि क्याम्पस निर्माणका कार्यका लागि आफुले योजना अघि बढाई सकेको उहाँले जानकारी दिनुभयो ।
यस्तै साधारणसभामा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीले फेक आइडी बनाएर समाजिक संजालमा नगरपालिकाको गतिविधीको विषयमा गलत अपवाह न फैलाउन आग्रह गर्नुभयो । समाजिक संजालमा गलत अपवाह फैलाएर केही पनि नहुने भन्दै उहाँले फेक आइडी बनाएर गलत अपवाह फैलाउनु भन्दा पनि सत्यतथ्य खोजी लेख्नुपर्नेमा जोड दिनुभयो ।
यता साधारणसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाले पत्रकारहरु पत्रकार आचारसंहिताको दायराभित्र रहेर कलम चलाउनु पर्नेमा जोड दिनुभयो । अचेल पत्रकारितामा नाम बजाएर खाने झोले, मगन्तेहरु बढ्न थालेकोप्रति दुःख व्यक्त गर्दै हामी कसका लागि र के का लागि पत्रकारिता गर्दै छौं भने कुराको मनन गर्दै सत्यतथ्यमा रहेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
साधारणसभामा मिथिला नगरपालिका ६ का वडाअध्यक्ष नन्दकिशोर यादव, ७ का वडाअध्यक्ष रामबहादुर स्यांगदन, कृषि उपज बजार समिति ढल्केवरका अध्यक्ष बुधेश्वर महतो, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका महासचिव दिपक लामा, मिथिला ब्याडमिन्टन क्लव ढल्केवरका अध्यक्ष संतोष कुमार महतो, हिमालय युवा क्लवको संरक्षक तथा संजालका सल्लाहकार अरुण कुमार महतो, हिमालय युवा क्लवका सचिव शिवकुमार सिंह, मिथिला नगर युवा संजालका अध्यक्ष राजु महतो लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारणसभामा स्वागत मन्तव्य संजालका उपाध्यक्षमा सरस्वती लामाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन फुलगेन महतोले गर्नुभएको थियो । साधारणसभामा रेडियो ढल्केवरका संचालक राजेश महतो, स्टेशन म्यानेजर राम उदगार महतो, संजालका सचिव विजय कुमार साह, कोषाध्यक्ष विजय कुमार सिंह, सदस्यहरु प्रेम बहादुर कार्की, सारथी लामा, मिथिला नगर बाल संजालका अध्यक्ष दिवेश कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।
धनुषा जिल्लामै पहिलो नगर पत्रकार संजालको रुपमा स्थापित मिथिला नगर पत्रकार संजाल ढल्केवरले यस आर्थिक वर्षमा नगरभित्रका सक्रिय पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता तथा दक्षता अभिवृद्धिका लागि तालिम संचालन गर्ने तथा नयाँ पत्रकारहरुका लागि समेत तालिम संचालनको तयारी गरिरहेको अध्यक्ष महतोले बताउनुभयो ।