स्वागतम खबर
महेन्द्रनगर, पौष ३० ।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति नक्टाझिजको दशौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । समितिको अध्यक्ष ठकाई महतोको अध्यक्षता तथा मधेश प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्य एवं मिथिला नगरपालिका नगर प्रमुख महेन्द्र महतोको विशिष्ट आतिथ्यमा साधारणसभा भएको छ । साधारणसभामा मिथिला नगरपालिका वडा नं. २ का वडाअध्यक्ष विहारी महतोको समेत विशेष उपस्थिति रहेको थियो । साधारणसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि नगर प्रमुख महतोले हाल खानेपानीको पुरै पाइपलाई फेर्नुपर्ने आवश्यकता देखिएकोले पाइपलाई सुधारका लागि नगरपालिकाको तर्फबाट चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभयो ।
सो साधारणसभामा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति नक्टाझिजको वार्षिक आयव्यवय, लेखापरिक्षण प्रतिवेदन, उपभोक्ताहरुबाट उठाउन बाँकी रहेको महसुल, उपभोक्ताको नामावली लगायतको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
समितिले सार्वजनिक प्रतिवेदन अनुसार हाल ६ सय १५ घरधुरीमा खानेपानीको धारा संचालनमा छ । हाल खानेपानीले धारा जडान गरेको उपभोक्ताहरुबाट करिव २ लाख रुपैयाँ वक्यौता महसुल उठाउन बाँकी रहेको समितिका सचिव मनोज कुमार महतोले बताएका छन् ।
समितिले आर्थिक वर्ष २०७८/०७९ मा ७ लाख ६४ हजार १ सय ६३ रुपैयाँ पानी महसुल संकलन गरेको जनाएको छ । खानेपानीले चालु आर्थिक २०७९/०८० मा ८ लाख रुपैयाँ महसुल संकलन गर्ने लक्ष्य लिएको जनाएको छ । समितिको हाल १ लाख २० हजार ८ सय १५ रुपैयाँ बैंकमा मौज्दात रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
हाल खानेपानीको पुरै पाइपलाई फेर्नुपर्ने आवश्यकता देखिएको साधारणसभाका सहभागी वक्ताहरुले बताएका छन् ।
यसैबीच दशौं साधारणसभाबाटै खानेपानी तथा सरसफाइ उपभोक्ता समिति नक्टाझिजको नयाँ संचालक समिति सर्वसम्मत चयन गरिएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति नक्टाझिजको अध्यक्षमा जग्गादाता परिवारबाट सुर्यनारायण महतोलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको छ । यसअघि लामो समयसम्म अध्यक्ष पदमा रहेर सफल कार्यकाल व्यतित गर्नुभएका ठकाई महतो वृद्ध अवस्थाका कारण आफु नसक्ने र अध्यक्ष पदमा नबस्ने बताएपछि उहाँलाई स-सम्मान विदाई गर्दै नयाँ संचालक समिति चयन गरिएको जनाएको छ । नयाँ संचालक समितिको उपाध्यक्षमा दिनेश प्रसाद यादव, सचिवमा मनोज कुमार महतो, सह सचिवमा देवेन्द्र महतो, कोषाध्यक्षमा सुर्यादेवी महतोलाई चयन गरिएको छ भने सदस्यहरुमा सुर्वण महतो, नेहाली महतो, सुशिलादेवी महतो, चन्द्रकला देवी महतो लगायतलाई चयन गरिएको जनाएको छ ।