राजेश महतो
जनकपुरधाम, माघ १४ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वरपुरमा शनिवार बृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दिगम्वरपुरस्थित माध्यमिक विद्यालयको प्राङ्गणमा भएको बृहत्त निःशुल्क स्वास्थ्य शिविरमा करिव ५ सय जनाले स्वास्थ्य जाँच गराएर लाभ लिएका छन् । शिविरमा विशेषज्ञ डाक्टरहरुद्धारा विरामीहरुलाई जाँच गरी समान्य प्रकारका विरामीहरुलाई औषधी समेत निःशुल्क उपलब्ध गराएको शिविरका स्थानीय आयोजक युवा एकता समाज सेवा दिगम्वरपुरले जनाएको छ ।
सो शिविरमा जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिर्सच सेन्टर अस्पतालका विभिन्न विशेषज्ञ डाक्टरहरुद्धारा विरामीहरुको जाँच गरिएको थियो । शिविरमा मेडिसिन तर्फ डा. अजय यादव, गाइनो तर्फ डा सुरेन्द्र कर्ण, डा. सिखा अधिकारी, बालरोग तर्फ डा. आदित्य यादव, अर्थोपेडिक तर्फ डा. चन्दन साह, नाक, कान, घाँटी तर्फ डा. सुनिल सिंह र आँखारोग तर्फ डा. रामकुमार साहले सम्बन्धित विरामीहरुलाई जाँच गर्नुभएको थियो ।
वैदेशिक रोजगारीका लागि कतार तथा मलेसियामा रहेका दिगम्वरपुरका श्रमिक युवाहरुको टिमद्धारा संचालित युवा एकता समाज सेवाले सहयोग उठाएर सो स्वास्थ्य शिविरको संयोजन गरेको संस्थाका कतार टिमका कोषाध्यक्ष मन्दिप कुमार महतोले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरका केही फोटोहरु