स्वागतम खबर
जनकपुरधाम, माघ १४ ।
धनुषाको मिथिला नगरपालिकाको ढल्केवरस्थित पूर्व पश्चिम राजमार्गसँगै जोडिएको ढल्केवर बजारमा किसान तथा व्यापारीका लागि कर छुटसहित विभिन्न सेवा सुविधा उपलब्ध हुन थालेपछि अचेल बजार भरिभराउ हुन थालेको छ । ढल्केवर कृषि बजार व्यवस्थापन समितिले बिक्री तथा निकासी करमा छुट, व्यापारीलाई तरकारी खरिद गर्न बिना ब्याज ऋण सापटीको व्यवस्था र बासको व्यवस्था गरेपछि किसान तथा व्यापारीले सहजता महसुस गर्न थालेकोले अचेल दैनिक रुपमा बजार भरिभराउ देखिन थालेको छ ।
बजार व्यवस्थापन समितिले किसानलाई बेला–बेला कृषि तालिम, उत्कृष्ट किसानको पहिचान गरी पुरस्कृत गर्ने र कृषि भ्रमण जस्ता अन्य सुविधा समेत उपलब्ध गराउने थालेको हो । किसानसँग तरकारी तथा फलफूल बिक्री गरेवापतको कर र खरिदकर्ता व्यापारीसँग निकासी लिँदै आएको कर हटाएपछि किसान तथा व्यापारीहरुले पनि सहजता महसुस गर्न थालेको बताएका छन् । सस्तो मुल्यमा हरियो तरकारी तथा ताजा फलफूल पाइने बजारको रूपमा परिचित ढल्केवर कृषि बजारमा व्यवस्थापन समितिले एक महिनादेखि यो सबै कर छुट गरेको छ । त्यसअघि बजार ठेक्कामा लाग्ने गरेको थियो ।
यसअघि सो बजारमा ठेक्का लिएका ठेक्केदारले एक ढाकी तरकारी बिक्री गरेवापत दश देखि विस रुपैयाँसम्म किसानसँग र एक पिकअप गाडी तरकारी निकासी गरेवापत एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म व्यापारीसँग कर असुल्दै आएको थियो । कर उठाउँदा बजारमा खरिद बिक्री गर्नेको सङ्ख्या कम भएको थियो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले किसान र व्यापारीसँग लिँदै आएको सबै प्रकारको कर छुट लगायत सामान खरिद गर्दा गर्दै रकम अपुग भएका व्यापारीलाई सापटी रकम समेत उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो । उहाँले एक साताका लागि एक जना व्यापारीलाई २५ हजार रुपैयाँसम्म सापटी दिने गरिएको जानकारी दिनुभयो । अहिलेसम्म धेरै व्यापारीले यसको फाइदा लिएको र कर छुटपछि किसान र व्यापारी दुबैलाई फाइदा पुगेको उहाँले बताउनुभयो । जसले गर्दा यहाँ लाग्ने प्रत्येक बजारको दिन पाँच हजार किसान आ–आफ्नो उत्पादन बिक्रीका लागि र एक हजार पाँच सयभन्दा बढी व्यापारी खरिद गर्न आउने गरेको अध्यक्ष महतोको भनाइ छ ।
साताको आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्दै आएको ढल्केवर बजारलाई अब दैनिक समेत गरिएको छ । बजारमा स्थानीयस्तरमा उत्पादन भएको तरकारी तथा फलफूल सस्तो मुल्यमा पाइने हुँदा काठमाडौं, पोखरा, सिन्धुली, जनकपुर लगायत विभिन्न सहरका व्यापारी आउने गरेका छन् । सो बजारमा धनुषाको लक्ष्मीनिवास, बेङ्गाडाबर, पुष्पवलपुर, बटेश्वर र नकटाझिज लगायत दर्जनौं गाउँका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउने गरेका छन् ।
ढल्केवर कृषि बजारमा गत आर्थिक वर्षमा ५२ करोड ९९ लाख २० हजार ९४८ रुपैयाँ मल्य बराबरको पाँच हजार ९६२ मेट्रिक टन तरकारी खरिद बिक्री भएको छ । यस्तै चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म २९ करोड ८५ लाख २८ हजार ५४२ रुपैयाँ मुल्यको तीन हजार २५४ मेट्रिक टन तरकारी तथा फलफूल किनबेच भएको ढल्केवर कृषि बजार व्यवस्थापन समितिका कार्यालय प्रमुख शम्भु दासले जानकारी दिनुभयो ।