स्वागतम खबर
जनकपुरधाम, माघ १६ ।
धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ जना थुनुवा फरार भएका छन् ।
ईलाका प्रहरी कार्यालयको दक्षिणपट्टी तिरको थुनुवा कक्षको वाल फोडेर ६ जना थुनुवा फरार भएका छन् ।
फरार हुनेहरुमा विनोद कुमार शर्मा, अनिष मण्डल, रोशन यादव, हरि घिसिङ, रोशन कुमार महतो र शंकर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । फरार भएको थुनुवाहरु विभिन्न मुद्दाका आरोपीहरु रहेका छन् ।
फरार थुनुवामध्ये विनोद कुमार शर्मा लागुऔषधका आरोपी हुन भन्ने हरि घिसिङ अभद्र व्यवहारका आरोपी छन् । यस्तै चारदिन अघि मात्र हतियारसहित पक्राउ परेका रोशन कुमार महतो र शंकर महतो रहेका छन् । यस्तै अनित मण्डल र रोशन यादव अन्य मुद्दाका अभियुक्तहरु रहेको प्रहरीले जनाएको छ ।
थुनुवा कक्षको वाल फोडेर थुनुवाहरु कसरी फरार भएका छन् भन्ने सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षमा जम्मा ७ जना थुनुवा रहेको र एक जना बाहेक ६ जना फरार भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवले बताउनुभयो ।