स्वागतम खबर
महेन्द्रनगर, माघ १७ ।
धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि तीनजना प्रहरीलाई निलम्बन गरिएकाे छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरीलाई निलम्बन गरेको हाे ।
हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेकाे भएपनि घटनामा डिउटीकाे समय प्रहरीको लापरबाही देखिएकोले उनीहरुलाई निलम्बन गरिएकाे बताइएको छ । यता थुनुवा फरार घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गर्दैछन् ।
यसैबीच थुनुवा कक्षकाे पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजनालाई साेमबार साँझ पुनः पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार फरार भएका मध्ये हातहतियार तथा खरखजनाका आराेपी राेशन कुमार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी थुनुवा कक्षबाट फरार अन्य ५ जनाको खोजी भईरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरकाे थुनुवा कक्षमा रहेकाे दक्षिणीपट्टीकाे पर्खालमा फाेडेर साेमबार विहान करिव ३ बजेकाे समयमा ६ जना थुनुवा बन्दी फरार भएकाे थियाे ।