स्वागतम खबर
ढल्केवर, माघ २० ।
धनुषाको मिथिला नगरपालिकामा वडास्तरीय सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । मिथिला नगरपालिका वडा नं. १ र २ मा शुक्रवार सामुदायिक मेलमिलाप केन्द्रको स्थापना तथा समुद्घाटन गरिएको छ । मिथिला नगरपालिकाका उपमेयर तथा नगरपालिकाको न्यायिक समितिका संयोजक सुनितासिंह बुढाथोकीले वडास्तरीय सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा वडास्तरमा चयन भएर आएका वडास्तरीय सामुदायिक मेलमिलापकर्ताहरुलाई उपमेयर बुढाथोकीले सपथ ग्रहण समेत गराउनु भएको छ । मेलमिलापकर्ताहरुलाई सपथ ग्रहणपछि वडामा निष्पक्षताका काम गर्न तथा सानातिना विवाद गाउँघरमै मिलापत्र गराउन आग्रह उपमेयर बुढाथोकीले मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।
मिथिला नगरपालिका वडा नं. १ मंजिता कुमारी मोची, रामकिशुन महतो, अनिता कुमारी महतो, रंजिता साफी, सलिन दास र राजेन्द्र प्रसाद राय यादवलाई सामुदायिक मेलमिलापकर्ताको रुपमा सपथ ग्रहण गराइएको छ । यस्तै मिथिला नगरपालिका २ मा कुन्ता कुमारी दहाल, कल्पना कुमारी महतो, लालपरि कुमारी महतो, अमृता देवी, उर्मिला कुमारी महतो र सुर्यनारायण महतोलाई सामुदायिक मेलमिलापकर्ताको रुपमा सपथ ग्रहण गराइएको नगरपालिकाका कानुन शाखा प्रमुख खिलराज परियारले जानकारी दिनुभयो । उनीहरुलाई परिचय पत्र समेत उपलब्ध गराइएको छ ।
सो अवसरमा मिथिला नगरपालिकाका न्यायिक समितिका सदस्य जयनारायण यादव, लक्ष्मी थिङ्ग, कानुनी सल्लाहकार अच्युत आचार्य, द एसिया फाउण्डेशनका प्रदेश संयोजक मञ्जु विश्वकर्मा लगायत सम्बन्धित वडाका वडाअध्यक्ष, वडा सदस्य लगायत हरुको समेत उपस्थिति रहेको बताइएको छ ।