विनोद महतो
महेन्द्रनगर, माघ २२ ।
धनुषाको मिथिला नगरपालिकामा यहि माघ २३ गते सोमबार (भोली) देखि पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शुरु हुँदैछ । धनुषामै पहिलो पटक आयोजना भईरहेको राष्ट्रिय महिला हक्की प्रतियोगिता मिथिला नगरपालिकाको वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा हुँदैछ ।
प्रतियोगिताको पूर्वसन्ध्याँमा मिथिला नगर पत्रकार संजाल ढल्केवरमा तयारी बारे आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता माघ २८ गतेसम्म चल्ने बताएको छ ।
पत्रकार सम्मेलनमा मधेश प्रदेश हक्की टिमका संयोजक रवीन्द्र सिंहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले हिमालय युवा क्लव नकटाझिजको खेल मैदानमा माघ २३ गते सोमबारदेखि शुरु भई माघ २८ गतेसम्म प्रतियोगिता चल्ने जानकारी दिनुभयो ।
मधेश प्रदेशको धनुषा जिल्लामा पहिलो पटक आयोजना भईरहेको राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपालका ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) गरी सात वटा महिला हक्की टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम रहेका छन् भने समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मीको टिम रहेका छन् । प्रतियोगिताको पहिलो दिन २३ गते सोमबार (भोली) तीन वटा खेल हुने संयोजक सिंहले बताउनुभयो । खेल विहान ९ बजेदेखि शुरु हुने भएपनि प्रतियोगिताको उद्घाटन भने दिउँसो १ बजेतिर गरिने तयारी छ ।
महिला खेलाडीलाई प्रोत्साहन, खेलप्रति लगनशील तथा महिला सशक्तीकरणमा टेवा पुग्याउने उद्देश्यले राष्ट्रिय यो पाँचौं संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता मधेश प्रदेशको धनुषा जिल्लास्थित मिथिला नगरपालिकाका आयोजना गर्न सफल भएको राष्ट्रिय खेलकुद परिषद्का उप निर्देशक तथा तथा हक्की खेलका राष्ट्रिय प्रशिक्षक बाबुराम नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा जम्मा १३ वटा खेल हुने र प्रत्येक दिन खेलाडीहरुलाई म्यान अफि दि म्याचकोे पुरस्कार स्वरुप नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु.७५ हजार, दोस्रो हुनेलाई रु.४० हजार र तेस्रो हुने टिमलाई रु.२५ हजार नगद पुरस्कार र डमी शील प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार दिइने छ ।
खेलका लागि भारतको पटनाबाट समेत रेफ्रीहरु ल्याउनु परेको नेपाल हक्की संघका प्रतिनिधी समेत रहनुभएका प्रशिक्षक नेपालले जानकारी दिनुभयो । नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको छ ।
पत्रकार सम्मेलनको भिडियो