स्वागतम खबर
महेन्द्रनगर, माघ २४ ।
धनुषाको मिथिला नगरपालिकामा माघ २३ गते सोमबारदेखि जारी पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्तर्गत मंगलबार दोस्रो दिन पनि तीन वटा खेल सम्पन्न भएको छ ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार सुदुरपश्चिम प्रदेश भिएस बागमति प्रदेश, गण्डकी प्रदेश भिएस प्रदेश १ र मधेश प्रदेश भिएस लुम्बिनी प्रदेशबीच खेल भएको आयोजकले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश भिएस बागमति प्रदेशबीच भएको खेलमा सुदुरपश्चिम प्रदेश शुन्यको विरुद्ध सात गोलले जित हासिल गरेको छ । यस्तै गण्डकी प्रदेश भिएस प्रदेश १ बीच भएको दास्रो खेलमा गण्डकी प्रदेश शुन्यको विरुद्ध ७ गोलले जित हात पारेको छ । यता मधेश प्रदेश भिएस लुम्बिनी प्रदेशबीच खेलमा लुम्बिनी प्रदेशले शुन्यका विरुद्ध दुई गोल अन्तरले जीत हासिल गरेको छ ।
१३ वटा खेलमा प्रतियोगिताको दोस्रो दिनसम्म ६ वटा खेल सम्मन्न हुँदासम्म लुम्बिनी प्रदेशले लगातार दोस्रो पटक जित निकालेको छ । लुम्बिनी प्रंदेशका लागि दोस्रो दिन पनि एक गोल गरेकी पूजा कुमारी म्यान अफ दि म्याच भएकी छिन् । उनलाई नगद दुई हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु.७५ हजार, दोस्रो हुनेलाई रु.४० हजार र तेस्रो हुने टिमलाई रु.२५ हजार नगद पुरस्कार र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको छ । यस्तै प्रतियोगितामा माघ २५ पहिलो खेलमा नेपाल आर्मी भिएस बागमति, दोस्रो खेलमा गण्डकी भिएस लुम्बिनी र तेस्रो खेलमा मधेश प्रदेश भिएस प्रदेश १ बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
धनुषामै पहिलो पटक आयोजना भईरहेको राष्ट्रिय महिला हक्की प्रतियोगिता मिथिला नगरपालिकाको वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा भईरहेको छ । लिग चरणमा भईरहेको प्रतियोगिता माघ २८ गतेसम्म चल्नेछ ।
राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपालको ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) गरी सात वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम रहेका छन् भने समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मीको टिम रहेका छन् ।
प्रतियोगिताको दोस्रो दिनका खेलहरुको झलक /तस्वीर : विनोद महतो