स्वागतम खबर
महेन्द्रनगर, माघ २५ ।
धनुषाको मिथिला नगरपालिकामा माघ २३ गते सोमबारदेखि जारी पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्तर्गत बुधवार तेस्रो दिन तीन वटा खेल सम्पन्न भएको छ । प्रतियोगिताको तेस्रो दिन बुधवार भएको पहिलो खेलमा नेपाल आर्मी भिएस बागमति, दोस्रो खेलमा गण्डकी भिएस लुम्बिनी र तेस्रो खेलमा मधेश प्रदेश भिएस प्रदेश १ बीच प्रतिस्पर्धा भएको छ ।
नेपाल आर्मी भिएस बागमति प्रदेशबीच भएको पहिलो खेलमा बागमति प्रदेशलाई शुन्यका विरुद्ध १३ गोलले हराउँदै नेपाल आर्मीले जित हात पारेको छ । यस्तै गण्डकी भिएस लुम्बिनी प्रदेशबीच भएको दोस्रो खेलमा दुवै टिमले निर्धारित समयभित्र दुई दुई गोलको बराबरी खेलपछि दुवै टिमलाई अंक बाँडिएको बताइएको छ ।
यता मधेश प्रदेश भिएस प्रदेश १ बीच भएको तेस्रो खेलमा मधेश प्रदेशले प्रदेश १ लाई शुन्यका विरुद्ध ७ गोलले हराउँदै जित हात पारेको छ । यो जितसँगै मधेश प्रदेश, नेपाल आर्मी र सुदुरपश्चिम प्रदेश सेमिफाइनलमा पुगेको आयोजकले जनाएको छ । १३ वटा खेलमा अहिलेसम्म ९ वटा खेल सम्पन्न भईसकेको छ ।
प्रतियोगिता अन्तर्गत माघ २६ गते विहिवार (भोली) दुई वटा सेमिफाइनलका खेल हुनेछ । विहिवार (भोली) दिउँसो १ बजे हुने पहिलो खेलमा नेपाल आर्मी र मधेश प्रदेश भिड्ने छ भने ३ बजे हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २८ गते हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु.७५ हजार, दोस्रो हुनेलाई रु.४० हजार र तेस्रो हुने टिमलाई रु.२५ हजार नगद पुरस्कार र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको छ । धनुषामै पहिलो पटक आयोजना भईरहेको राष्ट्रिय महिला हक्की प्रतियोगिता मिथिला नगरपालिकाको वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा भईरहेको छ ।
राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपालको ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) गरी सात वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र नेपाल आर्मीको टिम रहेकोछ भने समूह ‘बी’ मा प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेश रहेको छ ।