स्वागतम खबर
ढल्केवर, माघ २७ ।

धनुषामा भईरहेको पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा मधेश प्रदेशले तेस्रो स्थान ल्याएको छ । शुक्रबार तेस्रो स्थानका लागि सुदूरपश्चिम र मधेश प्रदेशबीच भएको खेलमा मधेश प्रदेशले शुन्यका विरुद्ध एक गोलको जित निकाल्दै तेस्रो स्थान प्राप्त गरेको छ ।
मधेश प्रदेशका लागि जर्सी नं. ७ का खेलाडी अन्जलीकुमार साहले गोल गरेकी प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिनुभयो । तेस्रो स्थान ल्याएका मधेश प्रदेशको टिमलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै खेलाडीहरुलाई मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।


यता प्रतियोगिताको फाइलन खेल शनिबार दिनको २ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधीका लागि फाइनल खेलमे नेपाल आर्मी र लुम्बिनी प्रदेश पतिस्पर्धा गर्नेछ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा माघ २३ गते सोमबारदेखि सो प्रतियोगिता भईरहेको छ । प्रतियोगितामा जम्मा १३ वटा खेलमा अहिलेसम्म १२ वटा खेल सम्पन्न भईसकेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु.७५ हजार, दोस्रो हुनेलाई रु.४० हजार र तेस्रो हुने टिमलाई रु.२५ हजार नगद पुरस्कार र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको छ ।