स्वागतम खबर
जनकपुरधाम, फागुन ३ ।
धनुषाको औरही खोलामा क्रसर व्यवसायीले गर्दै आएको अवैध उत्खनन् रोक्न खोज्दा एक युवकको हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले ३ जनालाई दोषी ठहर गरेको छ । विपिन कुमार महतो, मुनिन्द्र महतो र जितेन्द्र कुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले तीनैजनालाई दोषी ठहर गरेको हो । मिथिला नगरपालिकको औरही खोलामा अवैध उत्खनन् रोक्न खोज्दा दिलीपलाई हत्या गरेको आरोपमा तीनैजनालाई दोषी ठहर गरेको छ ।
न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा दोषी ठहर गरेको छ । उनीहरू विरुद्धको सजाय भने अदालतले तोक्न बाँकी छ । दोषी ठहर गरिएकाहरुलाई कति सजाय दिइने विषयमा न्यायधिश गुरुङले आगामी फागुन १२ गते निर्धारण गर्ने बताइएको छ । उहाँका अनुसार मुख्य अभियुक्तहरूलाई २५ वर्ष वा आजिवन कैदको सजाय हुनसक्छ ।
यता दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई भने सफाइ दिइएको श्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभयो । अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको स्रेस्तेदार बस्नेतले बताउनुभयो ।
मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) को २०७६ पुस २५ गते आफ्नै गाउँको पूर्वपट्टीको औरही खोलामा अवैध उत्खनन् रोक्न जाँदा एक्का विहानै निर्मम तरिकाले हत्या गरिएको थियो ।