निरंजन साह
जनकपुरधाम, फाल्गुन ६ ।
मधेस प्रदेशका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामको कमिशन मोहका कारण किसानहरु मारमा परेका छन् । कार्यालयका निमित्त प्रमुखको कमिसन मोहका कारण मर्कामा परेको किसानहरुको गुनासो छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामका निमित्त प्रमुख उपेन्द्र लिम्बुको कमिशन मोहकै कारण ४ महिना ढिलो गरेर धान खरिदको प्रक्रिया सुरु गर्दा आफुहरु मारमा परेको किसानहरुले बताएका छन् ।
नेपाल सरकारले कार्तिक १६ गते नै किसानले उत्पादन गर्ने धानको मूल्य तोकेर खरिद गर्ने घोषणा गरेपनि सरकारको तर्फबाट धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा लहान र वीरगञ्जमा धान खरिद प्रक्रिया सुरु भएर समाप्त भईसकेको भएपनि जनकपुरधाममा प्रमुखको कमिशन मोहका कारण ढिलो गरी धान खरिद प्रक्रिया सुरु हुँदा किसानलाई घाटा भएको र विचौलिया व्यापारीलाई फाइदा पुगेको लक्ष्मीनियाँ गाउँपालिका ३ का किसान गोविन्द यादव गुनासो बताउनुभयो ।
गत वर्ष भने व्यापारीसँग धान खरिद गर्दा एक टेक्टर वापत ५ देखि १५ हजारसम्म कमिसन कार्यालयका निमित्त प्रमुख लिम्बूले लिने गरेको र यस वर्ष पनि कमिशनकै कारण ढिलो गरी धान खरिद गर्न थालेको महोत्तरी कञ्चनवनका ५५ वर्षीय किसान खेदरु यादवले दावी गर्नुभयो ।
अर्का किसान सेवाग्राही सबैला नगरपालिका १० का बेचन हाथीले यस्तै भ्रष्ट कर्मचारीको कारण सरकारी संस्थाहरु घाटामा गईरहेको र कति डुबि सक्यो गुनासो भनेर गुनासो गर्नुभयो ।
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले नकिने पछि किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी गर्न ढिलाई गर्दा किसानहरू सस्तो मूल्यमा धान विक्री गर्न बाध्य भएको र अहिले कम्पनीले विचौलियता व्यापारीबाट मंहगो मुल्यमा धान खरिद गरिरहेको किसान श्रवण यादव बताउँनुहुन्छ । कमशिन मोहकै कारण कम्पनीले अहिले वास्तविक किसानको नभई विचौलिया व्यापारीहरुको धान खरिद गरिरहेको स्रोतको दावी छ ।
धान खरिदमा कशिसनकै लागि निमित्त प्रमुख लिम्बूले धनुषा र महोत्तरी जिल्लाका ठुलठुल्ला नेता र मन्त्रीहरुको नाम लिएर समर्थन मूल्य समितिको बैठकमा पनि अन्य पदाधिकारीहरुलाई हस्ताक्षर गर्न लगाएको स्रोतको भनाइ छ । समितिमा जिल्ला प्रसाशान कार्यालय धनुषा, कृषि ज्ञान केन्द्र धनुषा, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र एक किसान गरी चार जना रहेका छन् । समितिका अन्य पदाधिकारीहरु अहिले किसानको नभई व्यापारीको धान खरिद गर्ने काम भईरहेको भन्दै माइनुटमा हस्ताक्षर गर्न समेत नमानेको स्रोतको दावी छ ।
धनुषाका ५० र महोत्तरीका ५ जना हालसम्म ५५ जनाको ४ सय ९० क्वीन्टल ३० केजी धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी रामपुकार मण्डलले जानकारी दिनुभयो । तुलनात्मक रूपमा गत वर्षको मूल्य र चालु आर्थिक वर्षको मूल्यमा धेरै भिन्नता नरहेपनि बजारको मूल्य भन्दा महंगोमा खरिद गरिरहेको सूचना अधिकारी मण्डलले बताउनुभयो ।
उनले भने, ‘अहिले सोना मन्सुलीको बजार भाउँ प्रति क्विन्टल २४ सय देखि २८ सयसम्म छ । जसमा धानको गुणस्तरीयता कुन प्रकारको हो, त्यसमा फरक पर्छ, हामीले राम्रो गुणस्तर भएको धान मध्यम धानको ३ हजार १ सय २८ र जिरा मासिनो धानको ३ हजार ५ सय ६५ रुपैयाँ समर्थन मूल्यमा किनिरहेका छौं ।’
स्राेतका अनुसार कमिशनकाे विषयमा छानविन गर्न केहीले अख्तियारमा उजुरी समेत गरेका छन् ।