स्वागतम खबर
महेन्द्रनगर, फाल्गुन ८ ।
विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्राको रुपमा रहेको १५ दिने मिथिला माध्यमिक परिक्रमा सोमबारबाट विधिवत् रुपमा सुरु भएको छ । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारस्परिक सद्भावको रुपमा परिचित यस पदयात्रामा लाखौं साधुसन्त तथा श्रद्र्धालुभक्तहरुको सहभागिता रहेको छ । १५ दिनसम्म चल्ने धार्मिक परिक्रमा सोमबार सुरु भई फागुन २२ गते जनकपुरधाममा राति विश्राम गर्ने र २३ गते विहानै जनकपुरधामको अन्तगृह परिक्रमा गरेसँगे सम्पन्न हुनेछ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट माताजानकी र कचुरी मठबाट भागवान रामको डोला लिएर यो यात्राको शुभारम्भ भएको हो । नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको पैदल यात्रा गर्नेछ । पदयात्राको क्रममा पदमार्गमा रहेको १५ वटै विश्राम स्थलमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले प्रत्येक विश्राम स्थलमा घुम्ती शौचालय, बिजुली, खानेपानी, स्वास्थ्य शिविर लगायतका व्यवस्था गरेको अध्यक्ष शीतल साहले बताउनुभयो ।
परिक्रममा पहिलो दिन जनकपुरधामको हनुमान नगरमा विश्राम गरी त्यसको भोलिपल्ट अर्थात मंगलबार क्रमशः भारतको विहार राज्यस्थित कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चवन, धनुषाको क्षीरेश्वरनाथ महादेव दर्शन गर्दै पर्वता, धनुषाधाम, सतोखर, औरही, भारतको करुणा, बिसौलमा विश्राम गरी १५औँ दिन सो परिक्रममा जनकपुर आएर समाप्त हुने गर्छन् । त्यसको भोलिपल्ट अर्थात् अन्तगृह परिक्रममा गरी होली पर्व मनाउने चलन मिथिलामा रहिआएको छ । मिथिलाको महाकुम्भ भनेर प्रख्यात रहेको यो धार्मिक परिक्रममा नेपाल भारतका विभिन्न मठमन्दिरका साधुसन्त, भक्तजनहरु भजन किर्तन गर्दै सहभागी लाखौँको संख्यामा सहभागिता हुन्छन् ।
कचुरी मठका महन्थ राम नरेश शरणका अनुसार गत वर्ष कोभिडको कारण १२ लाख तिर्थालु सहभागी भएको परिक्रमामा यस वर्ष करिव २० लाख सम्मको सहभागिता रहने अपेक्षा गरिएको छ । उहाँका अनुसार मिथिलाञ्चल क्षेत्रको मध्य भु–भागमा राजर्षि राजा जनकको दरबार क्षेत्र मानिथ्यो । त्यस क्षेत्रमा रावणको अत्याचार बढेपछि राजा जनकले भगवान शिवलाई सहयोगको लागि गुहार गर्दा भगवान शिव भारत विहारको कल्यानेश्वररनाथ, महोतरीको जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरनाथ र सप्तेश्वरनाथको रुपमा दरवारको चारवटै कुनाहरुमा विराजमान भई मध्य मिथिला दरवार क्षेत्रको सुरक्षा गरेको हुनाले सोहि चार शिवालयहरुको परिक्रमा गर्ने भएकाले यसलाई मिथिला मध्यमा परिक्रमा भन्ने गरिन्छ ।
यस परिक्रमामा नाङ्गो खुट्टा सहभागी हुने भएकाले शरिरको रतmसञ्चार ठिक भई स्वस्थ्य हुने, मन, वचन र कर्मले सहभागी भएमा भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक र वैज्ञानिक मान्यता रहेको छ ।