स्वागतम खबर
जनकपुरधाम, फाल्गुन ९ ।
राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम २०७९ यहि फाल्गुन ११ गतेदेखि धनुषा जिल्लामा शुरु हुने भएको छ । सो अभियान धनुषा जिल्लाकाे १८ वटै पालिकामा फाल्गनु ११ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ । कुनै लक्षण नदेखिएपनि शरीरमा हात्तीपाईल रोगको परजीवि हुन सक्ने भन्दै आम नागरिकलाई औषधी सेवन गर्न/ गराउन १८ वटै पालिकामा फाल्गुन ११ गतेदेखि अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियानलाई सफल बनाउन सबै पालिका र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई अभियानमा सम्बन्धि तालिम प्रदान गरिएकाे जिल्ला स्वास्थ्य कार्यालयकाे शिवजी दासले जानकारी दिनुभयाे । यसपाली स्वास्थ्यकर्मी कै टाेली खटाएर हात्तीपाईले रोग विरुद्ध आमऔषधी सेवन अभियान कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
अनुसार हात्तीपाईले रोग विरुद्ध चलाउने औषधीहरु अत्यन्त प्रभावकारी र सुरक्षित रहेकोले सबैले आम रुपमा सेवन गर्नु पर्ने हुन्छ मंगलवार पत्रकारसँगकाे अन्तरक्रिया गाेष्ठीमा उहाँले भन्नुभयाे । २ वर्ष भन्दामुनिका बच्चा, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई बेडमा रहेका बाहेक सबै आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धका औषधी खानैपर्ने उहाँको भनाई थियो ।
यस पटक हात्तीपाईले रोग निवारणका लागि अल्वेण्डाजोल, आइभरमेक्टिन र डाईथालकार्वामाइजिन गरी ३ प्रकारको औषधी खुवाउने कार्यक्रम रहेको छ । यसअघि दुई थरिका औषधी खुवाउँदै आएकोमा यसपालीदेखि आइभरमेक्टिन भन्ने औषधी थपेर खुवाउन लागिएको हो । यी तीन थरिका औषधीले हात्तीपाईले रोग लागिसकेकाहरुको अझ धेरै प्रभावकारी रुपमा उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउने चिकित्सकहरुको भनाई छ ।
रोग लागि सकेपछि पूर्ण रुपमा निको हुन नसक्ने भएकाले समयमै औषधी खाएमा शरीरमा हात्तीपाईलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधी सेवन गरी हात्तीपाईले रोग निवारण अभियानमा सहयोग गर्ने नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतले प्रतिबद्धता जनाउनुभयाे ।
विगतका अभियानहरुमा औषधी लिने र पछि खान्छु भन्दै नखाने तथा फालिदिने भएपछि यस पटक स्वास्थ्यकर्मीका टोली आफ्नै अगाडी औषधी खुवाउने भएको तयारी गरिएको छ ।
सन २०३० सम्ममा नेपालबाट हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य सहित सरकारले हात्तीपाईले रोग विरुद्ध औषधी सेवन अभियान चलाउँदै आएको छ । हात्तीपाईले रोग Wuchereria ba ncrofti(९०%), Brugia malayi and B.timori नामको परजीविहरुको कारणले हुने शरीरको संक्रमण हो । नेपालमा एनोफेल्स मान्सोनल्स र एडेस नामको लामखुट्टेबाट यो रोगको परजीवि सर्ने गरेको छ ।