स्वागतम खबर
महेन्द्रनगर, फागुन १४ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ रमदैयामा रहेको जिल्लाकै प्रसिद्ध राजदेवी मन्दिरमा शनिबार राती चोरी भएको छ । मन्दिरबाट राजदेवी माताक मुर्ति, सुनको मुकुट र अन्य गरगहना गरी करिब ६ लाख रुपयाँ मुल्य बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धीरज यादवले जानकारी दिनुभयो । पुजारी यादवका अनुसार शनिवार राती १२ बजेतिर चोरी भएको हो । चोर मन्दिरको पछाडि भागबाट प्रवेश गरेको छ ।
महेन्द्रनगर–जनकपुर सडक खण्डसँगै रहेको राजदेवी मन्दिर यस क्षेत्रकै प्रसिद्ध मन्दिर छ । राजदेवी मन्दिरमा चोरी हुने घटनालाई स्थानीयवासिन्दाले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीले तत्काल चोरलाई पक्राउ गरी कारवाही गर्न प्रहरीसँग माग गरेका छन् । चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् । मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ ।
यसअघि करिव चार पाँच महिना पहिला पनि सोहि मन्दिरमा राजदेवी माताको सुनका गरगहना र श्रृंगारका सम्मानहरु चोरी भएको थियो । तर प्रहरी हालसम भन्ने चोर र चोरीको घटनाबारे पत्ता लगाउन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले चोरी घटनासम्बन्धमा अनुसन्धान भइरहेको र अपराधी पक्राउ गर्न प्रहरी युनिट खोजतलासमा जुटेको बताउनुभयो ।