स्वागतम खबर
महेन्द्रनगर, चैत १ ।

धनुषाको बटेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ बुधवारदेखि शुरु भएको छ । बटेश्वर गाउँपालिकास्थित शिवशक्ति माध्यमिक विद्यालयका प्रधानध्यापक प्रमोद शरण केवटको अध्यक्षता तथा बटेश्वर गाउँपालिकाका प्रमुख रामअशिष महतोको प्रमुख आतिथयमा प्रतियोगिता शुरु भएको छ ।
शिवशक्ति माविको प्राङ्गणमा भईरहेको सो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकाभरिका विद्यालयहरुबीच एथलेटिक्स अन्तर्गत कबड्डी, भलिवल, ज्याभलिंग थ्रो, दौड लगायतका खेलकुदमा प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिता विहिवार समापन हुने जनाएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद मुल नाराका साथ नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ मा बटेश्वर गाउँपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको छ ।


बटेश्वर गाउँपालिकाले संचालन गरेको सो प्रतियोगितामा शिवशक्ति मावि, लक्ष्मी मा.वि. चित्रपुर, आधारभूत रा.प्रा.वि. बटेश्वर, देवकी नमुना आ.वि. बटेश्वर, बौद्ध रा.प्रा.वि. बटेश्वर, वि.पि.रा.प्रा.वि. निरसपुर, रा.प्रा.वि.विजयपुर, रा.प्रा.वि. रमौली टोल, मटुक महतो रंकीदेवी रा.प्रा.वि. चित्रपुरका विद्यार्थीहरुले रनिङ्ग शिल्ड प्रतियोगिताको विभिन्न खेलकुदमा भाग लिएका छन् ।
प्रतियोगिता उद्घाटन समारोहको अवसरमा गाउँपालिका तथा वडाका जनप्रतिनिधी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा खेलकुद प्रेमीहरुको उपस्थिति रहेको थियो । बटेश्वर गाउँपालिकाभरिमा जमा १५ वटा सामुदायिक विद्यालय रहेको भएपनि प्रतियोगितामा तयारी अभावका कारण ९ वटा विद्यालयले मात्र सहभागिता जनाएको बताइएको छ ।