स्वागतम खबर
काठमाडौं, चेत २ ।

विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ’डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । पछिल्ला १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी भएको छ । जम्मा एउटा खेलमा पराजित भएको छ । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो ।
नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ । आजको जितसँगै लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको छ । नेपालको जितले नामिबियाले भने सिधै क्वालिफायर खेल्ने पाउने छैन् ।