राजेश महतो
महेन्द्रनगर, चैत ३ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ७ हरिहरपुर महादेव मठस्थित श्री क्षीरेश्वरनाथ धर्म संस्थाको चौंथो साधारणसभा शुक्रवार सम्पन्न भएको छ । श्री क्षीरेश्वरनाथ धर्म संस्थाका अध्यक्ष ईश्वरी प्रसाद अधिकारीको अध्यक्षता तथा क्षीरेश्रवरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा चौथो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख यादवले प्रसिद्ध क्षीरेश्वरनाथ मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्याएको भएपनि अगामी वर्षहरुमा बजेट बढाउने आश्वासन दिनुभयो । उहाँले धार्मिक कार्य र मठमन्दिरमा राजनीति गर्न नहुने तर्क समेत राख्नु भयो । क्षीरेश्वरनाथ नगरपालिकाको नाम पनि यसै ऐतिहासिक तथा धार्मिक क्षीरेश्वरनाथ बाबाको नामबाटै रहेकाले नगरपालिकाले मन्दिरको विकासका लागि पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने नगर प्रमुख यादवले विश्वास दिलाउनुभयो ।
साधारणसभामा पालिकाका उपमेयर रचना माथेमा, वडा नं. ७ का वडाअध्यक्ष मुवारक कवारी, पूर्व अध्यक्ष रामकृष्ण यादव, क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, संस्था अध्यक्ष रामजी सिंह, समाजसेवी मित्रलाल गिरी, ललित साह, हरिप्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभयो । साधारसभामा संस्थाका संरक्षक, आजिवन सदस्य, स्थानीय समाजसेवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
साधारणसभामा संस्थाका सचिव तेजकृष्ण काफ्ले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बेचन यादव आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारणसभामा संस्थाको आर्थिक र प्रगति प्रतिवेदन पारित गरिएको थियो । साधारणसभाबाटै अध्यक्ष ईश्वरी प्रसाद अधिकारीको नेतृत्वमा रहेको संचालक समिति विघटन गरिएको छ ।
यसैबीच संस्थाको चौथो साधारणसभाबाट नयाँ संचालक समिति चयन गरिने भएको छ । नयाँ संचालक समिति चयनका लागि शनिवार विहान वृहत्त बैठक बसी छलफल गर्ने र छलफल पश्चात समिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने संस्थाका निर्वतमान सचिव काफ्लेले जानकारी दिनुभयो ।
संस्थामा हाल ६ जना संरक्षक र ३ सय ९१ जना आजिवन सदस्य रहेका छन् । चौथो साधारणसभाले संस्थाका आजिवन सदस्यताका लागि १५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ ।