स्वागतम खबर
धनुषा, चैत ११ ।
धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित हिमालय युवा क्लवले २८औं वार्षिक साधारणसभा समारोह शनिवार मनाएको छ । क्लवका अध्यक्ष शिवराम महतोको अध्यक्षता तथा मधेश प्रदेशका प्रदेशसभा सदस्य हरिनारायण महतो एवं निवर्तमान प्रदेशसभा सदस्य शत्रुधन महतोको प्रमुख आतिथ्यमा साधारणसभा मनाएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि हरिनारायण महतोले युवाहरुमा समाज परिवर्तका लागि सकारात्मक सोच र भावनाको विकासका लागि क्लवहरुले अब कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुदका साथै शिक्षा, स्वास्थ्य, समाजिक सेवा र कार्य तथा समाजमा रहेको विकृति विसंगतीहरुलाई चिर्न तथा युवालाई कुलतबाट बचाउन सीप मूलक तालिमहरु दिएर रोजगारसँग जोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले यस क्षेत्रका जंगली जनावर पीडित किसानहरुको समस्यालाई आफुले गम्भीर रुपमा लिएको र यसका लागि प्रदेशमा समेत अवाज उठाउने आश्वासन समेत दिनुभयो ।
यस्तै अर्का प्रमुख अतिथि शत्रुधन महतोले युवाहरुलाई समाजिक कार्यहरु प्रति सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । अहिलेको युवा पूस्ता लागुऔषधमा फस्दै गएकोले युवा क्लवहरुले युवाहरुको जगेर्ना गरेर लागुऔषधको बाटोबाट सकारात्मक दिसामा ल्याउन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साधारणसभाको अवसरमा विशिष्ट अतिथिको रुपमा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो, वडा नं. २ का वडा अध्यक्ष विहारी महतो, क्लवको कानुनी सल्लाहकार तथा अधिवक्ता डा.कालेश्वर महतो लगायत विभिन्न क्षेत्रका वक्ताहरुले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए । साधारणसभा कार्यक्रमको उद्घोषण क्लवका सचिव शिवकुमार सिंहले गरेका थिए ।
साधारणसभाको अवसरमा क्लवको वार्षिक आयव्यय विवरण र वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको छ । साधारणसभामा क्लवका तर्फबाट सचिव शिवकुमार सिंहले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कविता कुमारी सिन्हाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । क्लवमा करिव तीन दर्जन महिला सहित दुई सय जना सदस्य छन् ।
यता साधारणसभाकै अवसरमा भएको रक्तदान कार्यक्रममा एकजना महिला सहित २१ जनाले रक्तदान गरेका छन् । क्लवले प्रत्येक वर्ष साधारणसभाको अवसरमा ‘रक्त दान जीवन दान’ मूल नाराका साथ रक्तदान कार्यक्रम गर्दै आएको छ ।
समाजिक, सांस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतको क्षेत्रमा क्लवले अग्रणी भूमिका खेल्दै आएको छ । ग्रामीण क्षेत्रकै सबैभन्दा चर्चित र सक्रिय युवा क्लवको रुपमा हिमालय युवा क्लवलाई चिनिँदै आएको छ ।