स्वागतम खबर
ढल्केवर, जेठ ५ ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासले संचालन गर्दै आएको जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानीय पहल (लिरिक) परियोजनाको पालिका स्तरीय तेश्रो पक्षीय सामाजिक लेखा परिक्षण बैठक शुक्रवार धनुषाको मिथिला नगरपालिकामा सम्पन्न गरेको छ । पैरवी मञ्चका अध्यक्ष नागदेव यादवको अध्यक्ष तथा मिथिला नगरपालिका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा परियोजनाको तेश्रो पक्षीय सामाजिक लेखा परिक्षण बैठक सम्पन्न गरेको छ ।
बैठमा मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकी, वडा नं. ३ का वडाअध्यक्ष रामएकवाल महतो, पैरवी मञ्चका संस्थापक एवं सल्लाहकार सोम कार्की, आड्रा नेपालका तेज कुमार तिमिल्सिना, परियोजनाका एक्सपर्ट एवं रुपान्तरण नेपालका विराट पन्त, मिथिला नगरपालिकाका विभिन्न शाखाका प्रमुख, परियोजना अन्तर्गत मिथिला नगरपालिकाका विभिन्न समूहका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत संस्थाले मिथिला नगरपालिकामा गरेको कार्य, त्यसबाट भएको उपलब्धी, परियोजनाको दिगोपना र परियोजनामा हालसम्म भएको खर्चको विवरण सार्वजनिक गरिएको छ ।
सो बैठकमा परियोजनाका फिल्ड संयोजक पप्पु यादवले मिथिला नगरपालिकामा परियोजनाबाट हालसम्म ४० महिनाको अवधीमा गरिएको कार्य, क्रियाकलाप, उपलब्धी, परियोजनाको दिगोपना र लागत खर्चको विवरण सार्वजनिक गर्नुभयो । उहाँका अनुसार मिथिला नगरपालिका परियोजनाका लागि कुल विनियोजित रकम रु. ८८ लाख रुपैयाँमध्ये हालसम्म ७० लाख ८ हजार १ सय ८३ रुपैयाँ खर्च भएको छ । परियोजनाको सम्झौता अवधी अझै दुई महिना बाँकी रहेकोले परियोजनाले निर्धारण गरेको लक्ष्य र उद्देश्य अनुसारका कार्यहरु निरन्तर चलिरहेको उहाँले बताउनुभयो ।
मिथिला नगरपालिकामा परियोजनाले नदी तटीय र उकास क्षेत्रका ५ सय घरधुरीका ३ सय ५६ महिला र १ सय ४४ पुरुष नागरिक समुहमा आबद्ध भएर लाभान्वित भएका छन् । फिल्ड संयोजक यादवका अनुसार मिथिला नगरपालिकाको वडा नं. ३ र ५ को औरही नदी किनारका संकटासन्न समुदाय र बस्ती का ५/५ वटा समूह र वडा नं. ११ को तुल्सीको रातो नदी (खोला) तटीय क्षेत्र र किनारको जम्मा १२ वटा समूह गरी जम्मा २२ वटा समूह मार्फत जनसमुदायके अगुवाइमा परियोजनाले जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि लक्षित विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
यता सो बैठकलाई सम्बोधन गर्दै पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत धनुषा र महोत्तरी जिल्लाका ६ पालिकामा नदी प्रणालीसँग जोडिएर परियोजना लक्षित कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले धनुषाको औरही नदी, धनुषा महोत्तरीको सीमाना रहेको रातो नदी र महोत्तरीको मरहा नदी तटीय क्षेत्रका बस्ती र समुदायलाई लक्षित गरी समूह मार्फत उच्च जोखिममा रहेको समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधनको क्रममा अध्यक्ष यादवले चुरेबाट हुने भू–क्षयका कारण मधेश मरभूमिकरण हुने अवस्थामा आएकाले यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले लिरिक परियोजना मार्फत रातो नदीमा रहेको १०८ वटा खहरे खेलामध्ये ६७ वटालाई डिग्रेसन गर्दै बालुवा, गिट्टीको बहावलाई रोकथाम र व्यवस्थापन गर्ने कार्य गरेको जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत संस्थाले समूहहरुलाई ५० हजारको दरले विय पुँजी दिएको छ भन्ने विभिन्न प्राविधिक तालिम र सहयोग उपलब्ध गराउँदै आएको छ । परियोजनाले झोल मल मनाउने तालिम, जैविक विषादी बनाउने, टनेल खेती गर्ने, खानेपानीको व्यवस्थापन तथा संरक्षण, भुमिगत पानीलाई जोगाउन चुरेमा पुर्नभरण पाखेरी निर्माण, खाली जग्गामा बोटविरुवा लगाउने, बाँस लगाउने, सिंचाईका लागि कुलो निर्माण लगायतको कार्य जनसमुदायको अगुवाई गर्दै आएको जनाएको छ ।
युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रूपान्तरण नेपाल तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरीको साझेदारीमा लिरिक परियोजना संचालनमा रहेको छ ।
परियोजनाले धनुषा र महोत्तरीका ६ वटा पालिकामा मौसम मापन गर्ने डिभाइस समेत जडान गरेको छ । नगरपालिका लगायत आसपासका क्षेत्रको मौसमबारे समग्र गतिविधी र उतार चढावको जानकारी दिने उद्देश्यले सो उपकरण जडान गरेको छ । सो उपकरणले मौसमको पूर्वानुमान तथा जलवायु परिवर्तनबारे सूचना दिने गरेको जलवायु परिवर्तन तथा जीविकोपार्जन परियोजनाका विज्ञ विराट पन्थले जानकारी दिनुभयो ।