स्वागतम खबर
ढल्केवर, जेठ २५ ।
धनुषाको मिथिला नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला यथासिघ्र खोल्न कर्मचारीहरुले अपिल गरेका छन् । तालाबान्दीका कारण नगरपालिकाबाट हुने सेवा प्रवाहका सबै कार्य गर्न कठिनाई भएकाले लगाएको ताला यथाशिघ्र खोल्न कर्मचारीहरुले सामूहिक रुपमा अपिल गरेका छन् ।
विहिवार नगरपालिकाका कर्मचारी परिवारले अपिल पत्र जारी गर्दै तालाबन्दी गर्ने सबै सरोकारबला निकाय, व्यक्तिहरुलाई ताला खोलेर सेवा प्रवाहमा सहयोग गर्न अपिल गरेका छन् । नगरपालिकामा जेठ २४ गते बुधवार केही समूहले मेयर महेन्द्र महतो, उपमेयर सुनितासिंह बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेको कार्यकक्षमा ताला लगाइदिएको छ । जसको कारण नगरपालिकाको सेवा प्रवाहका कार्य प्रभावित भएको छ । आर्थिक वर्षको अन्त्यतिर काम चाँप अत्याधिक रहेकाले तालाबन्दीका कारण कामकाज प्रभावित हुँदा सयों सेवाग्राहीले सास्ती भोग्नु परेको एक सेवाग्राहीले बताएका छन् ।
मिथिला नगरपालिकाको ढल्केवरस्थित अस्पतालमा ईमरजेन्सी सेवा संचालनका लागि कर्मचारी भर्ना प्रक्रिया रोकिएपछि आक्रोशित स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिकाद्वारा अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशन सहितका सम्पूर्ण प्रक्रिया पूरा भई कर्मचारी भर्नाका लागि जेठ २५ गते आवेदकहरुको अन्तवार्ता लिने कार्यक्रम तय गरिएको थियो । यद्यपि एक्कासी कर्मचारी भर्ना प्रक्रिया स्थगित गरिएपछि आक्रोशित स्थानीयले नगरपालिकामा आएर बुधवार नाराबाजी गर्दै तालाबन्दी गरेको नगरपालिकाले जनाएको छ ।
यता नगरपालिकामा तालाबन्दी गर्न पुगेका स्थानीय परमेश्वर महतोले ढल्केवर अस्पतालमा ईमरजेन्सी सेवा संचालनका लागि विज्ञापन गरिएको अनमी सहितका पदका भर्ना प्रक्रिया एक्कासी अन्तिम समयमा रोकिएकाले तालाबन्दी गरेका प्रतिक्रिया दिएका छन् ।
यता तालाबन्दीबारे प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले अस्पतालमा ईमरजेन्सी सेवा संचालनका लागि विज्ञापन गरेको र अन्तवार्ताका लागि जेठ २५ गते मति तोकिएको भएपनि कार्यपालिका सदस्यहरुबाट छलफल गराएर मात्र प्रक्रिया अघि बढाउन सुझाव आएपछि हालका लागि अनमी पदको अन्तवार्ता स्थगित गर्नु परेको बताउनुभयो ।
ईमरजेन्सी सेवा संचालनका लागि नगरपालिकाले स्वास्थ्य उपकरणहरु समेत खरीद गरिसकेको छ भने कर्मचारी भर्नाको तयारीमा जुटेका छन् । गएको असोज १२ गतेमै नगरपालिकाले मेडिकल अधिकृत २, ल्याब टेक्नोलोजिस्ट १, अनमी ४, स्वीपर २ जना सहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो ।