विनोद महतो
जनकपुरधाम, जेठ २५ ।
जथाभावी रुपमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्य विज्ञले आमनागरिकलाई आग्रह गरेका छन् । जुनसुकै रोगमा पनि एन्टिबायोटिक जथाभाबी प्रयोग गर्दा यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने र कलान्तरमा कुनै एन्टिबायोटिकले काम गर्न नसक्ने भएकाले यसको प्रयोगमा सजगता अपनाउन स्वास्थ्य विज्ञ आग्रह गरेका छन् ।
संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ २४ गते बुधवार जनकपुरधाममा पत्रकारहरुसँग गरेको एकदिने गोष्ठी कार्यक्रममा स्वास्थ्य विज्ञले एन्टिमाइक्रोबियल रेसिस्टेन्टबारे जानकारी गराएको थियो ।
नेपालमै पहिलो सुरुआती चरणमा आयोजना गरिएको सो कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवम् बालरोग विशेषज्ञ डा. प्रमोद यादवले सरकारको स्पष्ट गाइडलाइन हुँदाहुँदै पनि नेपालमा एन्टिबायोटिक औषधिको प्रयोग घट्नुको साटो उल्लेख्य रुपमा बढ्दै गएकोले यसको प्रयोगप्रति आम नागरिक सजग हुनुपर्ने बताउनुभयो । सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न उहाँले अभियान नै चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा समापन मन्तव्य राख्दै जथाभावी एन्टिबायोटिक औषधी प्रयोग गर्दा आउने दिनमा कुनै औषधीले काम नगर्ने र भयावह अवस्थाको सिर्जना हुन सक्ने भएकाले यसको प्रयोग गर्दा आम बिरामीहरूले गम्भीरता पूर्वक ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । साक्षरता दर पनि निकै कम रहेको मधेश प्रदेशमा जनचेतनाको अभावले पनि यसको प्रयोग दिनानुदिन बढ्दै गएकाले आमनगरिकलाई यसको बारेमा जानकारी गराउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सङ्क्रमण रोग विशेषज्ञ डा. सन्तोष दुलालले ७५ प्रतिशत सरुवा रोगहरू जनावरबाट मानिसमा सर्ने गरेको जानकारी दिनुभयो । जनावरबाटै कोभिड–१९ भाइरस मानवमा सरेको उदाहरण दिँदै उहाँले विश्वभरमा ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको भन्दै यसले आउने दिनमा स्वास्थ्य क्षेत्रमा ठुलै समस्या निम्त्याउन सक्ने दावी गर्नुभयो । यसका लागि अब ढिलो नगरीकन जनचेतना फैलाउन आवश्यक रहेको र सबै पक्ष मिलेर काम गर्नुपर्ने उहाँको कथन थियो । प्रस्तुतीको क्रममा उहाँले हाल उपलब्ध भएका एन्टिबायोटिक औषधीको कार्य क्षमतामा ह्रास आउँदै जाने र प्रभावहिन हुँदा सरुवा रोगमा वृद्धि भई मृत्युको संख्या बढ्न सक्ने भएकाले यसको प्रयोगमा सजग हुन सबैलाई अपिल पनि गर्नुभयो ।
कार्यक्रममा डा.विवेका श्रेष्ठले एन्टिबायोटिकको प्रयोग गर्दा पनि पूर्णमात्रामा निको हुने किसिमले प्रयोग नगर्ने, बीचमै अर्को एन्टिबायोटिकको प्रयोग गर्ने हाम्रो बानी रहेकाले यसले थप जटिल समस्या निम्त्याइरहेको बताउनुभयो । उहाँले चिकित्सको सिफारिसमा मात्रै एन्टिबायोटिक सेवन गर्न, बाँडेर नखान, सरसफाइमा ध्यान दिन, विरामीसँग दुरी कायम गर्न, कुनै पनि खोप नछुटाईकन लगाउन र विरामी हुँदा अस्पताल वा स्वाथ्यकर्मीको सल्लाह सुझाव लिन आम नागरिकलाई आग्रह गर्नुभयो । उहाँले एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) विरुद्ध लड्न आवश्यक कानुन, नियमन र दिशानिर्देशहरु बनाएर लागु गर्नुपर्ने सुझाव दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राजकुमार पाण्डे, युएसएडका प्रतिनिधि पत्रकार अर्जुन अधिकारीले पत्रकारलाई यसबारे खोजीनीति गरेर समाचार सम्प्रेसन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा धनुषा, महोत्तरी र सिरहा जिल्लाका करिव चार दर्जन पत्रकारको उपस्थिति रहेको थियो । कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम मधेश प्रदेशमा दोस्रो थियो भन्ने अन्य प्रदेशहरुमा समेत आयोजना गर्दै जनचेतना जगाउने उद्देश्य लिएको छ ।
कुनै खास रोग लगाउने जीवाणु विरुद्ध प्रभावकारी रहेको एन्टिबायोटिक औषधी सोही जीवाणु विरुद्ध प्रभावहिन बन्दै जानुलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) भनिन्छ । यसले उपचार खर्च पनि बढाउँदै लैजान्छ ।
यसको नियन्त्रण र जथाभावी प्रयोग रोक्नका लागि नेपाल सरकारले नेशनल एक्शन प्लान एएमआर २०२१–२०२६ लागु गर्ने नीति पनि लिएको छ ।